काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका क्रममा भारतका समकक्षी नरेन्द्र मोदीसँग नेपाल–भारतबीचको सीमा समस्या र यसको समाधानबारे कुराकानी गरेका छन् । बिहीबार हैदरवाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त प्रेस सम्मेलनमा दुवै प्रधानमन्त्रीले सीमा समस्या समाधानबारे छलफल भएको बताए । भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई हिमालय जति उचाई दिन सबै समस्या हल गर्ने बताए ।
उनिपछि सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले दुई देशको सीमा विवाद समस्या गर्ने बाटो के हो ? भन्ने पनि खुलाए । ‘प्रधानमन्त्री मोदी र मैले सीमाबारे छलफल गर्यौं’ प्रचण्डले भने, ‘सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रबाट हल गर्न अनुरोध गरेको छु । १४ महिना अगाडि भारत भ्रमण गरेका निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रचण्डकै भाषामा सीमा समस्याबारे समकक्षी मोदीसँग कुरा गरेको बताईएको छ। यता भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको भ्रमणमा सीमा समस्याबारे छलफल मात्रै हुनु नयाँ कुरा नभएको बताउँछन् । ‘छलफल गर्नु नयाँ होइन, कार्यान्वयन ठूलो कुरा हो’ उपाध्यायले भने, ‘भारतले सीमा समस्या समाधान गर्न तयार छौं भनेर बाहना गर्ने गरेको दशौं वर्ष भइसक्यो ।
यसपटक पनि प्रधानमन्त्री प्रचण्डको भ्रमणमा सीमा समस्यालाई चासोका साथ हेरिएको थियो । त्यसमाथि भ्रमणको ठीक अगाडि भारतले उद्घाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को भित्ते नक्सा सार्वजनिक भएपछि सीमा विवाद थप चर्किएको थियो । माओवादीकै सांसदहरुले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई यसबारे प्रश्न गरेका थिए । भने प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठनहरुले काठमाडौंमा उनीको पुत्ला दहन गरेका थिए ।
नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराई, सीमा समस्याबारे छलफल मात्रै गर्नुको अर्थ समाधानबारे कुनै ठोस् प्रगति नभएको बुझ्नुपर्ने बताउँछन् । ‘छलफल मात्रै गर्ने भनेपछि प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरता र औपचारिकतामा मात्रै सीमित हुन पुग्यो । भट्टराईका अनुसार, २०७६ भदौको पहिलो साता नै तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी सुव्रमण्यम जयशंकरबीच संयन्त्र बनाएर सीमा समस्या हल गर्ने लिखित निर्णय भइसकेको थियो ।