काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी प्रकरणको छानविनलाई निष्कर्षमा नै पुराउने गरि अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको आईतवार महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेको भन्दै यसबाट पछि नहट्न र छानविनलाई निष्कर्षमै पुराउन प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।
लिङ्देनले विगतका वाइडबडी काण्ड, ललिता निवास काण्ड, एनसेल काण्ड जस्तै नक्कली शरणार्थी प्रकरणलाई पनि देखाउनका लागि मात्रै छानविन गर्न नहुने तर्क गरे । उनले नक्कली शरणार्थी प्रकरणको छानविनमा कुनै राजनीतिक स्वार्थ नभए यस बिषयमा प्रधानमन्त्रीलाई राप्रपाको समर्थन रहने स्पष्ट पारे ।
अध्यक्ष लिङ्देनले देशको अवस्था अत्यन्तै जटिल र असमान्य अवस्थातर्फ गइरहदा पनि देशका नेता सत्ता केन्द्रीत राजनीतिमा व्यस्त भइरहनु देशका लागी घातक रहेको उल्लेख गरे । उनले मुलुकको नेतृत्व गर्न सक्ने बिकल्पको रुपमा राप्रपालाई स्थापित गर्नुपर्ने भन्दै यसका लागि संगठन र संघर्षलाई संगसंगै अघि बढाउनुपर्ने धारणा राखे ।