धनकुटा। धनकुटामा जङ्गली च्याउ खाएर बिरामी भएका मध्ये थप एकको मृत्यु भएको छ । जङ्गली च्याउ खाएर हिजो आमाको निधन भएको थियो भने आज उपचारको क्रममा छोराका पनि मृत्यु भएको हो ।
शहीद भूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।
गत सोमबार जङ्गलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परे पछि उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याइएको थियो ।
तर, त्यहाँ पनि उपचार सम्भव नभए पछि दुवै जनालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । तर, उपचारको क्रममा शुक्रबार आमाको निधन भएको थियो भने ७ बर्सिया छोरा सचिनको आज निधन भएको हो ।