काठमाडौं । सहकारी ठगी प्रकरणका जीबी (गितेन्द्रबाबु) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।
प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाका अनुसार राई विरुद्द शुक्रबार डिफ्युजन नोटिस जारी भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले राइविरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई गत पुस ५ गते पत्राचार गरेको थियो।
कास्की प्रहरीको पत्रपश्चात इन्टरपोलको नेपाल शाखा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंले प्रहरी अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो। एनसीबी काठमाडौंको अनुरोधपछि इन्टरपोलले राईविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो।
डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनको खोजी गर्नेछ । रकम हिनामिना गरेको भन्दै उनीविरूद्ध कास्कीमा मात्रै १९ हजार भन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप छ।
रकम हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा उनीहरुविरुद्ध मुद्दा चलाइएको छ।