काठमाण्डाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा विमत्ति रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै लामिछानेले नागरिकता विधेयक सदनमा ल्याएर छलफल गरेको भए छलफल हुने र अहिलेको संसदमा रहेका सवैले स्वामित्व लिने अवस्था बन्ने भएपनि विधेयक प्रमाणीकरणको प्रक्रियामा विमत्ति रहेको बताए । उनले नागरिकता बिधेयकमा बोरमा रास्वपा कुनै समूदायको विरोधमा छ भनेर जनतालाई गुमराहमा राखेको जिकिर गरे ।
नागरिकले नागरिकता नपाउनुको पीडा आफुलाई थाहा रहेको भन्दै उनले जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकारको सुनिश्चित हुनुपर्ने बताए । उनले एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने व्यवस्थाले महिलाको आत्मसम्मानमा ठेस पुग्न सक्ने धारणा राखे । त्यस्तै उनले सरकारले ल्याएको बजेटको कार्यक्रम बीच तालमेल भेट्न नसकेको बताए ।
जनतासंग भोट माग्दा शिक्षा, स्वास्थ्य लगाएतका बिषयमा प्रतिवद्धता जनाएकाले यस बिषयमा आवश्यक नीति बनाउदा सवै दलहरु एकठाँउ आउनुपर्ने उनले बताए । त्यस्तै उनले नयाँ पुस्ताका राजनीतिज्ञहरुलाई पुरानो पुस्ताका नेताहरुले सिक्ने अवसर प्रदान गर्नुपर्ने उल्लेख गरे ।