काठमाण्डौं । पछिल्लो पटक माओवादीसहितको समाजवादी केन्द्र बनाउन लागिपरेका नेताहरु अहिले पुरानो नेकपा ब्युँताउन तयार रहेको बताउन थालेका छन् । एक पटक असफल भैसकेको नेकपालाई ब्युँताउनका लागि कम्युनिष्ट नेताहरु लागि परेका हुन् । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा औपचारिक रुपमा विघठन भएपछि अहिले एमाले र माओवादी पुरानै अस्तित्वमा फर्केका छन् ।
एमाले भने विभाजित अवस्थामा रहेको छ । एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाएका छन् । त्यसकै अध्यक्ष रहेका नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपा ब्युँताउन आह्वान गरेका हुन् । शनिबार भक्तपुरमा आयोजित नेकपा एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ब्युँताउन आफू तयार रहेको बताए ।
उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने नेकपा ब्युँताउन तयार रहेको बताए । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप पनि लगाउँदै तत्कालीन नेकपा व्युँताउनु पर्ने प्रस्ताव गरेका हुन् । उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसि नरहने जिकिर गरे । उनले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाहरुले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए ।