काठमाण्डौैँ । प्रतिबद्धता र पारदर्शी तरिकाले दायित्व पूरा गर्छु भनेर सार्वजनिक अठोटका साथ देखा परेका सुदन किराँती सम्भवत संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मामा धेरै दिन नरहने देखिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक सुरक्षाका लागि जनमत पार्टीलाई सरकारमा भित्र्याउने प्रयास गरिरहेका छन्।
यसको तयारी स्वरुप प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच केही चरणका छलफल पूरा भएको बुझिएको छ। सत्ता गठबन्धनमा महत्वपूर्ण स्थान ओगटेको नेपाली कांग्रेससँग भएका मन्त्रालयमा हेरफेर गर्न नमिल्ने हुँदा प्रचण्डले आफ्नै पार्टीका नेता किराँतीको जिम्मामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय जनमतलाई दिने ‘अफर’ गरेका छन्।
यस विषयमा प्रचण्ड र जनमतको वार्ता लगभग अन्तिम चरणमा नै पुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय आफूबाट लिइएपछि किराँतीले कस्तो व्यवहार देखाउँछन्, त्यो फरक पाटो हो। मन्त्रिपरिषद्मा उनको उपस्थिति, खरो बोली, इमान्दार छवि, काममा खट्ने बानी पार्टीको लागि व्यवहारिक रूपमा असहज बनेको बुझिएको छ। मन्त्री किराँतीका केही अभिव्यक्ति र उनका व्यवहार नै त्यसको प्रमाणहरू बन्न पुगेका छन्। एक जना व्यापारीले खाना खान बोलाएर करोडौँको अफर गरेको विवरण किराँतीले सार्वजनिक गरेपछि पार्टीमा उनी कम रुचाइएका हुन्।
प्रधानमन्त्री दाहालको औपचारिक भारत भ्रमणमा थप अथवा अतिरिक्त हवाई क्षेत्रको प्रयोग गर्ने माग महत्वपूर्ण थियो जुन भारतले दिएन। उक्त भ्रमणमा मन्त्री किराँती जान चाहेनन्। प्रधानमन्त्री फर्किएपछि भारतले महत्वपूर्ण निर्णय हाम्रो (नेपालको) पक्षमा केही गर्दैन भन्ने बुझेर भारत भ्रमणमा नगएको प्रतिक्रिया दिएका थिए।
जुन भ्रमणलाई प्रचण्डले एउटा सफल यात्राको रुपमा व्याख्या गरेका छन् । त्यही भ्रमणलाई किराँतीले बहिस्कार नै गरे। किराँतीका यस्ता व्यवहारले प्रचण्डले उनलाई आउट गरी जनमतलाई इन गर्न खोजेको बुझिएको हो। उद्योग मन्त्रालय नपाएपछि खानेपानी मन्त्रालयमा मात्रै चित्त बुझाउन नसकेर सरकारबाट बाहिरिएको जनमत फेरि कुन हैसियत सरकारमा फर्किन्छ, त्यो उसको निणर्यको कुरा हो। प्रचण्डसँग (माओवादीसँग) जुन मन्त्रालय छ, त्यो नै प्रचण्डले जनमतलाई दिन खोजेका हुन्। जनमतले आकांक्षा देखाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा काँग्रेसका रमेश रिजाल छन्।
तर, मन्त्री किराँतीको पर्यटन तथा संस्कृति मन्त्रालय प्रचण्डले किन खोस्दैछन् ? जनमतलाई सरकारमा सहभागी गराउन वा किराँतीको उपस्थितिले मन्त्रिपरिषद्मा असहजता निम्त्याएर ? किराँती इमान्दार छवि र काममा खट्ने मन्त्रीमा पर्छन्। मन्त्रालयको जिम्मेवारी ग्रहण गर्दै शपथ लिएपछि पदभार ग्रहण गर्दा किराँतीले ‘निकटता र पैसाको भरमा काम गराउँछु भनेर नठान्नू म बाट’ भनेका थिए।
मन्त्री बनेको एक साताभित्र थेगिनसक्नु गरी घुसको लागि अफर आएको भन्दै अफर नगर्न भनेर सामााजिक सञ्जालमार्फत उनले पटकपटक आग्रह गरेका थिए। तर उनले आफूले केही समय मन्त्रालय जिम्मेवारीको अनुभव लिने भन्दै कहाँबाट कति रकम घुस आयो त्यो भने नखुलाउने बताएका थिए। नेपाल वायु सेवा निगमका कार्यकारी प्रमुखको सरुवा गर्न भनेर एक व्यापारीबाट करोडौँको प्रस्ताव आएका विवरणहरु सार्वजनिक भएका छन्।