काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डाक्टर वैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले समपन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
सरकारले मुख्यसचिव शंकरदास वैरागीको कार्यकाल नसकिँदै अर्को मुख्यसचिव नियुक्ति गरेको हो। मुख्यसचिव वैरागीको कार्यकाल आगामी असोज दोस्रो साता सम्म छ भने डाक्टर अर्याल यही असार ३ गते अवकाशमा जाँदै थिए।
अर्यालले यसअघि सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए। सहसचिव रहँदा लामो समय अर्थ मन्त्रालय बजेट महाशाखामा काम गरेका थिए।