काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सचिव अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको जानकारी दिनुभयो ।
देशका विभिन्न भागमा अतिक्रमित भएका सार्वजनिक सरकारी जग्गाहरूको लगत सङ्कलन गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी त्यस्ता जग्गाहरू साबिककै अवस्थामा फर्काउन स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएकोसमेत समितिमा जानकारी गराउनुभएको छ ।
सूचना दिएर सहयोग गर्न सबै नागरिकहरूलाई अपिल गरिएकोसमेत बताएका गृह सचिव अर्यालले मन्त्रालयले अपराध अनुसन्धान र अभियोजनलाई उच्च प्राथमिकतामा राखेको पनि जानकारी गराउनुभएको छ । निष्पक्ष रूपमा काम गर्न प्रहरीलाई निर्देशन दिइएको उहाँको भनाई छ ।
गृह सचिव अर्यालले सुनको अवैध आयात, तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ भने बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको चरणमा रहेको उल्लेख गर्दै अध्ययनपश्चात् कार्यान्वयनमा लगिने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर राखिएको ५० प्रतिशत हतियार नवीकरण नगरिएको प्रारम्भिक प्रतिवेदन आएको भन्दै मन्त्रालयले व्यक्तिहरूसँग गैर कानुनी रूपमा राखिएका हतियार नियन्त्रण गरी शून्यमा झार्ने नीति अवलम्बन गरेको पनि गृह सचिव अर्यालले बताउनुभयो।
समितिमा बोल्दै गृह सचिव अर्यालले निषेधित क्षेत्रको विकल्प दिनेबारे छलफल भइरहेको पनि जानकारी दिनुभएको छ । काठमाडौँ र ललितपुरमा निषेधित क्षेत्र तोकिँदा आवतजावतमा सहजता पुगेको बताउँदै गृह सचिव अर्यालले पछिल्लो समयमा यसको विकल्प दिने सन्दर्भमा समेत गृह मन्त्रालयमा छलफल भइरहेको बताउनुभएको हो ।