काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनजातिलाई फुटाएर देशलाई कुनै हित नहुने बताएका छन् । भूमे पर्वका अवसरमा नेपाल मगर संघले शुक्रबार काठमाडौंको खुल्लामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि जात–जातिलाई फुटाएर देशको हित नहुने बताए ।
उनले जनगणनाको तथ्याङ्क सार्वजनिक गर्ने क्रममा मगर लगायतका जातजातीहरुलाई फुटाउने वा टुक्राउने काम भएको गुनासो आएपछि यसलाइ सच्चाउनका लागि आफुले आवश्यक निर्देशन दिइसकेको बताए । जनजाति लगायतको बलिदानीबाटै मुलुकमा ऐतिहासिक परिवर्तन सम्भव भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि समूदायको अहित हुने गरि सरकारले काम नगर्ने विश्वास दिलाए ।
प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय एकता र स्वाधिनताका साथै हामी सबैको अधिकार र पहिचानका पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै प्रकृतिको पुजा गर्नुको पछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गरे ।
प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको भुमे/भूम्या पर्व असार ३ गते सम्म खुल्ला मञ्च काठमाडौमा मनाइने मगर संघले जनाएको छ । प्राकृतिक विपत्ति नआओस भूतप्रेत, ग्रहदशा जाउन्न बालीनालीमा किरा नलागोस भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भुमे/भूम्या पर्व मनाउने प्रचलन चलिआएको छ ।