काठमाण्डौं । नेपाली कांग्रेस सच्चिने कि सिद्धिने भन्ने चर्चा चलेको धेरै भएको छ । कांग्रेस नसच्चिएकै कारण उपनिर्वाचनमा यसअघि जितेको तनहुँ १ को सिट पनि गुमेको भन्दै युवाहरु यतिबेला थप जुर्मुराइरहेका छन् ।
कांग्रेस पुरानो ढर्रामा चल्ने हो भने मुलुकले निकास नपाउने र पार्टीप्रतिको आकर्षण पनि घट्दै जाने निष्कर्षसहित पार्टीलाई रुपान्तरणको मुद्दा लिएर महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगै केन्द्रीय सदस्य प्रदीप पौडेलहरु विद्रोह गर्नेसम्मको नीति लिएर अगाडि बढिरहेका छन् ।
उनीहरुले पार्टीमा आमूल परिवर्तन नभएसम्म अगाडि बढ्न नसकिने निष्कर्षसमेत निकालेका छन् । पार्टी एउटा मोडमा पुगेको भन्दै अब दबाब सिर्जना नगरी नहुने कांग्रेस केन्द्रीय सदस्य पौडेलले बताए ।
यसअघिदेखि युवाहरु पार्टी रुपान्तरणका लागि नलागेका हैनन् । तर नेतृत्वले सुनेको नसुन्यै गरिरहेको छ । त्यतिमात्र होइन आफूहरुका जायज मागलाईसमेत सम्बोधन नगरेको भन्दै आक्रोश पोखिरहेका छन् ।
गत आइतबारमात्रै महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत नै अब कडा कदम नचाली नहुने संकेतसहितको अभिव्यक्ति व्यक्त गरेका थिए । थापाले पार्टीभित्रको अनैतिक गतिले सीमा नाघेको भन्दै अब कडा कदम चाल्ने संकेत गरेका थिए ।
उनले लेखेका थिए, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो ’
केही दिनअघिको पदाधिकारी बैठक अर्थात् बैशाख २२ गतेको धुम्बाराहीमा बसेको बैठकमा अर्का महामन्त्री शर्मा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमै प्रस्तुत भएका थिए । उनले देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने भन्दै पार्टीमा रुपान्तरण नगर्ने हो भने विदेह गरेरै भए पनि शुद्धीकरण अभियानमा जुट्ने भन्दै आक्रोश पोखेका थिए ।
सभापतिमा पुनः निर्वाचित भएको १७ महिनासम्म पनि पार्टीका विभिन्न समितिले पूर्णता नपाएको, केन्द्रीय समितिको बैठकसमेत नबोलाएको, सदस्यहरुलाई जिम्मेवारी नदिएको भन्दै देउवामाथि आक्रोश पोख्ने क्रममा उनीहरुले आफूहरु थपडी बजाउनका लागि मात्रै पदाधिकारी नभएको बताएका थिए ।
पार्टीका विभाग गठन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन, केन्द्रीय कार्यसमितिको मनोनयन, कोषाध्यक्षको नियुक्ति लगायतका अधिकार सभापतिलाई दिएको छ । विधानअनुसार महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गरिसक्नुपर्ने विभागसमेत गठन गरिएको छैन । सभापतिले विभाग गठन गरिदिएपछि मात्रै महामन्त्रीले त्यसलाई परिचालन गर्ने हो । त्यतिन्जेलसम्म महामन्त्री जिम्मेवारीविहीन जस्तै भएका छन् । देउवाले निर्णय आफैँ गर्छन् । आफू निकटका सीमित पदाधिकारीलाई राखेर निर्णय गरेकाले उनले अहिलेसम्म महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको अवस्था छ ।
सहभागी एक पदाधिकारीका अनुसार महामन्त्रीद्धयले यदि सक्रिय सहभागीता नगराइ अगाडि बढ्ने हो भने आफूहरु आफ्नै हिसाबले अगाडि बढ्ने चुनौती दिएका थिए । त्यसको संकेत थापाले सामािजक सञ्जालमार्फत गरिसकेका छन् । शर्मालेसमेत आफू निकटका नेताहरुसँग अब पदबाट राजीनामा नै दिनुपर्ने स्थिति आयो भन्दै त्यसका लागि तयार रहेको संकेत गरिसकेका छन् ।