काठमाण्डौँ । नेपालमा विदेशी कुटनीतिज्ञ र सुरक्षा अधिकारीहरुको आउजाउ बढिरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू पनि नेपाल आएका छन् । उनीहरुले नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुखसहितको टोलीले राजनीतिक दलका नेताहरूसँग भेट गरेका हुन् ।
चिनियाँ नेतृ छु मिन सहितका चिनियाँ नेताहरूले आइतबार दिउँसो नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेट गरेका छन् । उनीहरूबीच शिष्टाचार भेटघाट भएको एमालेले जनाएको छ । उनीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेताहरूसँग पनि उनीहरूले भेट गरेका छन् । प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार उनीहरूबीच राप्रपा केन्द्रीय कार्यालयमा भेट भएको हो । भेटमा नेपाल चीन सम्बन्ध, दुई पार्टीबीच सम्बन्ध विस्तार, भूराजनीतिक परिस्थिति लगायतका विविध विषयवस्तुमा छलफल भएको उनले बताए ।
तर चिनियाँहरुको यस्तो दौडधुप किन भैरहेको छ भन्ने बारेमा कोही कसैले विश्लेषण गरेका छैनन् । कोभिड संक्रमण विस्तारै हटेपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु नेपाल आउन लागेका हुन् । नेपालमा वामपन्थीको नेतृत्वमा सरकार बनेपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको भ्रमण हुने गरेको छ । अमेरिकी अधिकारीहरु काठमाडौँ उपत्यकाभित्र रहेका तिब्बती शरणार्थी शिविरमा पुगेर चीनका विरुद्धमा भड्काउने मन्तव्य दिँदा सरकारले आफूलाई केही थाहा नभएको स्वाङ पारेर बस्नु दुःखलाग्दो विषय भएको भन्दै चिनियाँहरुले पटक पटक नेपाली अधिकारीहरुसँग गुनासो गर्ने गरेका छन् ।
एमसीसी पारित भएपछि यस्ता कार्यमा बढावा हुँदै गएको चीनको बुझाइ छ । नेपाल भूराजनीतिक भुँवरीमा फस्दै गएको र विदेशी क्रिडास्थल बन्नु चीनको सुरक्षा संवेदनशीलतामा मात्र नभएर नेपालकै सुरक्षा संवेदनशीलतामा आँच पुगेको बताइँदै आएको छ । यही सन्दर्भमा चिनियाँ लगानीमाथि नकारात्मक प्रभाव पार्ने केही कार्य सरकारले गरेको पनि चिनियाँ बुझाई रहेको छ र नेपालको पूर्ववर्ती सरकारले चिनियाँ कम्पनीलाई निर्माण गर्न दिएको बूढी गण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट खोसेर नेपाल आफैँले बनाउने निर्णय गर्यो ।
त्यसपछि पश्चिम सेती जलविद्युत परियोजना चिनियाँ कम्पनीबाट खोसेर भारतीय कम्पनीलाई दिने कुरा प्रधानमन्त्री तहबाटै भएको थियो । चिनियाँ लगानीमा बनेको जलविद्युत आयोजनाले उत्पादन गरेको बिजुली भारतले किन्दैन त्यसकारण चिनियाँ कम्पनीलाई दिन सकिँदैन भनेर प्रधानमन्त्री तहबाट आएपछि लगानीको वातावरण बनाउनसमेत चिनियाँ कम्युनिष्ट नेताहरु नेपाल आएको स्रोतले जनाएको छ ।