काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्षीमा रहेकाले विरोध गर्ने र सत्तापक्षमा बस्नेले निरंकुश बन्ने प्रवृत्तिले लोकतन्त्र मजबुद हुन नसक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय माथिको बजेटमा आएका जिज्ञासको जवाफ दिदै श्रेष्ठले विरोधका लागि विरोध गर्ने र सत्तापक्षमा रहेपनि निरंकुश हुने प्रवृतिले लोकतन्त्र मजबुद हुन नसक्ने भन्दै नयाँ अभ्यास सुरु गर्नुपर्ने बताए ।
उनले सदनमा बजेटका बिषयमा छलफल गर्ने र आएको सुझावहरुलाई अंगिकार नगर्ने परम्परालाई पनि अन्त्य गर्नुपर्ने धारणा राखे । गृहमन्त्री श्रेष्ठले प्रहरी बढुवामा पैसाको चलखेललाई शुन्यमा झारिएको दावी गर्दै गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले छानविन गरिएको बताए । उनले बालुवाटार, यती, ओम्नीलगायत काण्डमा अनियमितता, भ्रष्टाचार देखिए कसैलाई पनि छुट नहुने स्पष्ट पारे ।
सीमा क्षेत्रलाई थप व्यवस्थित र चुस्त दुरुस्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउदै सीमा सुरक्षाका लागि हालसम्म दुई सय ५० बिओपी स्थापना गरिएको र थप स्थानमा पनि स्थापना हुने जानकारी दिए । उनले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले आवश्यक कदम चालिसकेको र हालै आएको बाढिपहिरोबाट पीडितलाई आवश्यक राहत र पुर्नस्थापना गरिसकेको बताए ।
गृहमन्त्री श्रेष्ठले पश्चिम नेपालको जोखिमलाई मध्यनगर गरि दाङ र कैलालीमा पूर्व विपद तयार अभ्यास पनि गरिसकेको बताए ।