काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरुलाई कुट्ने विद्यार्थीलाई कारबाही गर्नुपर्ने बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजको २२ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्नु गलत भएको भन्दै कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।
अध्यक्ष ओलीले गुरुलाई देवता समान मान्नुपर्नेमा जोड दिदै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णय दुखद भएको बताए ।
‘त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ । विद्यार्थीले प्रोफेसर कुट्न किन नपाइने मज्जाले पाइन्छ भन्छ सरकार । गुरु हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार’, ओलीले भने, ‘त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन् तिनीहरु विद्यार्थी होइनन् । बाहिर सडकका हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्नेमा जोड दिए ।