दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले संघीय सरकारले प्रदेश मातहतका स्वास्थ्य संस्थालाई उपेक्षा गरेको गुनासो गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले गरेको जनप्रतिनिधी र स्वास्थ्यकर्मीसँगको छलफलमा मन्त्री पुनले प्रदेश सरकारले मात्रै स्वास्थ्य क्षेत्रमा सबै काम गर्न नसक्ने भन्दै त्यसका लागि संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।
मानिसको स्वास्थ्य राम्रो नभएमा भौतिक वस्तुको सम्पन्नता भएपनि कसले प्रयोग गर्ने ? भन्दै उनले प्रश्न समेत गरेका छन । सडक, भवन, पुल भन्दा पहिलो नागरिकको स्वास्थ्य हो भन्ने विषय राज्यले बुझ्नु पर्दछ, मन्त्री पुन मगरले भने ।
´जनताको स्वास्थ्य अवस्था दयनीय छ’, मन्त्री पुनले भने, ´हाम्रो बजेटले मात्रै पुग्दैन । तर, संघीय सरकारले प्रदेशले गर्छ भन्दै उपेक्षा गर्छ ।’
जनता संघ र प्रदेशका अलग-अलग नहुने भन्दै जनताको जीवनरक्षा गर्ने दायित्व तीनै तहका सरकारको भएको बताए । जनताको समस्या समाधान गर्न तीन तहका सरकारले एकीकृत योजना बनाउनुपर्ने मन्त्री पुनको भनाई छ ।
अब राज्यको पहिलो ध्यान नागरिकको स्वास्थ्य निर्माण गर्नेमा हुनुपर्दछ । जबसम्म स्वास्थ्य राज्यको प्राथमिकतामा पर्दैन तबसम्म देश र देशवासी समृद्ध नहुने उनले तर्क अगाडि सारेका हुन ।
स्वास्थ्य मन्त्री पुन मगरले सरकारी अस्पतालहरु बिरामी भेट हुने चौतारी जस्तै बनेको कारण निजी क्लिनिकहरुमा उपचार हुने गरेको प्रति गम्भिर भएर समिक्षा गर्न आवश्यक रहेको टिप्पणी गरे ।
उनले लोक सेवा लडेर आएको कर्मचारी र बढी मत लिएर आएको जनप्रतिनिधीहरुबाटै सेवा क्षेत्रको परिवर्तन शुरुवात गर्न आवश्यक रहेको बताउँदै सुधारका लागि के गर्न सकियो त भन्ने कुराको प्रश्न आफैलाई गरी काम गर्न सबैलाई निर्देशन दिए ।