अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहँदा मानिसहरु शहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताउनुभएको छ ।
तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरु पुर्याइरहेको सन्दर्भ केलाउदै मुख्यमन्त्री आचार्यले शहर केन्द्रित भएकाहरु अब गाउँ फर्कन जरुरी रहेको बताउनुभएको हो ।
आज मालारानी गाउँपालिका–२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण जयन्ति महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुविधाकै लागि शहर पसेकाहरु अब गाउँ फर्कनुपर्ने धारणा राख्नुभयो । ‘हामीले गाउँमा विकास पुर्यायौं । सुविधा पुर्यायौं । यही गाउँमा पनि धेरै गर्न सकिन्छ । अब गाउँ फर्किएर उद्यम गर्न जरुरी छ ।’
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ निर्मला क्षेत्रीले शिक्षाको गुणस्तर सुधारमा सबै एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ । पूर्व प्रदेश सभा सदस्य क्षेत्रीले विकासमा दलगत स्वार्थभन्दा माथि उठेर अगाडि बढ्न जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।