पाल्पा । जिल्ला ट्राफिक कार्यालय पाल्पाले पछिल्ला तीन वर्षको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाही गर्दै करिब तीन करोड २२ लाख रुपैयाँ जरिवाना स्वरूप राजस्व सङ्कलन गरेको छ।
कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि चालु आव २०८१/०८२ को जेठ मसान्तसम्म ५९ हजार ७५५ जनाबाट तीन करोड २१ लाख ९० हजार ६ सय रुपैयाँ जरिवाना असुल गरिएको हो।
उनका अनुसार ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन गरी सवारी सञ्चालन, भाडा बढी असुली, निजी सवारीमा यात्रु बोक्ने जस्ता कार्यमा संलग्न भएकाहरूबाट यो रकम सङ्कलन गरिएको हो।
प्रमुख आचार्यले सडकमा बढ्दो लापरवाही र ट्राफिक नियमको बेवास्ताका कारण समस्या जटिल बन्दै गएको बताए। यही अवधिमा जिल्लामा २४३ वटा सवारी दुर्घटना हुँदा १२४ जनाको ज्यान गएको र ८३ जना घाइते भएको तथ्यांक छ।