काबुल । अफगानिस्तानमा महिनौंदेखि हिरासतमा रहेका ८० वर्षीय पिटर र बार्बी रेनोल्ड्सको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको संयुक्त राष्ट्रसंघका विज्ञहरूले चेतावनी दिएका छन्। सन् २०२३ मा मस्तिष्काघात भोगेका पिटरलाई मुटुको औषधि आवश्यक रहेको र दुई पटक आँखामा संक्रमण देखिएको छ ।
उनकी पत्नी रक्तअल्पता र खुट्टा सुन्निने समस्याबाट पीडित भएकी छन्। तालिबान सरकारका उच्च कूटनीतिज्ञ तथा विदेशमन्त्री अमिर खान मुत्ताकीले बुधबार काबुलमा पत्रकार सम्मेलनमा दम्पतीको सबै मानव अधिकारको सम्मान गरिएको र उपचारको व्यवस्था गरिएको दाबी गरेका छन् ।
करिब १८ वर्षदेखि अफगानिस्तानमा रहेका यी दम्पतीलाई गत फेब्रुअरीमा चिनियाँ-अमेरिकी साथी र एक अफगान अनुवादकसहित गिरफ्तार गरिएको थियो। उनीहरूलाई सुरुमा उच्च सुरक्षा युक्त स्थानमा, त्यसपछि जमिनमुनिका अँध्यारा कोठाहरूमा र अन्ततः काबुलको गुप्तचर कार्यालयमा स्थानान्तरण गरिएको थियो ।
तालिबानले पक्राउको कारण खुलाएका छैनन्, तर एक स्रोतका अनुसार उनीहरूसँग धेरै गैर–इस्लामिक पुस्तकहरू भेटिएको थियो। सन् १९७० मा काबुलमै विवाह गरेका पिटर र बार्बीले अफगानिस्तानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका थिए। उनीहरूको रिहाइका लागि प्रयास भइरहेको भए पनि प्रक्रिया अझै पूरा भएको छैन ।