काठमाडौँ - मधेश प्रदेश सभाका पाँच सदस्यलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउतले बदर गरेकी छिन्।
आफूविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएलगत्तै सभामुख मण्डलले बिहीबार पाँच सांसदलाई पदमुक्त गरेका थिए। लगातार १० वटा बैठकमा अनुपस्थित रहेको देखाउँदै मण्डलले जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरेका थिए।
जसपाका सांसद मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार र शारदा शंकरप्रसाद कलवार तथा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह सभामुखको कारबाहीमा परेका थिए।
लगतै उपसभामुख राउतले सूचना जारी गरीसभामुख मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको कारण महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गर्दै मण्डलको निर्णय बदर गरिदिएकी हुन्।
२०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा मण्डल एमालेबाट र राउत जनमत पार्टीबाट निर्वाचित भएका हुन्।
