काठाडौं - अमेरिकाले अघि सारेको २८ बुँदे शान्ति योजनापछि युक्रेन एक “अत्यन्तै कठिन मोड”मा पुगेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देश “राष्ट्रिय गरिमा जोगाउने कि सबैभन्दा महत्वपूर्ण साझेदार अमेरिकाको समर्थन गुमाउने” जस्तो संवेदनशील दोधारमा उभिएको बताए ।
अमेरिकी प्रस्तावमा पूर्वी दोनेत्स्क क्षेत्रबाट फिर्ता, सैन्य तैनाथी कटौती तथा भविष्यमा नेटोमा नजोडिने प्रतिवद्धता जस्ता सर्तहरू छन्, जसलाई युक्रेनले सार्वभौमिकता र सुरक्षा हितविरुद्ध भन्दै अस्वीकार गर्दै आएको छ ।
फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबारसम्म प्रस्ताव स्वीकार-अस्वीकार गर्ने समयसीमा तोकेका छन्, यद्यपि सकारात्मक संकेत देखिए समय थप्न सकिने संकेत दिइएको छ ।
विश्लेषकहरूका अनुसार प्रस्तावका धेरै बुँदा दीर्घकालदेखि रूसी मागहरूसँग मेल खान्छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रस्ताव “संभावित आधार” बन्न सक्ने प्रतिक्रिया दिएका छन् तर अमेरिकासँग विस्तृत संवाद भएकै छैन ।
युरोपेली नेताहरूले भने कुनै पनि निर्णय युक्रेनसँग नजिक समन्वयमा गर्नुपर्ने अडान दोहोर्याएका छन् । २०२२ को आक्रमणयता करिब २० प्रतिशत भूभाग कब्जामा परेको युक्रेन हाल कूटनीतिक दवाब, सुरक्षा चिन्ता र पश्चिमी साझेदारीबीच जटिल मोडमा उभिएको छ, जहाँ यस हप्ताको कूटनीतिक सक्रियताले प्रस्तावको भविष्य दिशा तय गर्ने अपेक्षा गरिएको छ।