Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण


२०, पुस २०८२
  • 70
    SHARES
  • दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

    सियोल । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ चीन भ्रमणमा निस्कनु केही घण्टाअघि उत्तर कोरियाले आइतबार समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छिमेकी मुलुकहरूले यसलाई क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिएका छन् ।

    दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले जारी गरेको विज्ञप्तिअनुसार उत्तर कोरियाको राजधानी क्षेत्रबाट बिहान करिब ७ः५० बजे क्षेप्यास्त्र प्रक्षेपण गरिएको पत्ता लागेको हो । ती क्षेप्यास्त्रहरू करिब ९०० किलोमिटर उडेर समुद्रमा खसेका छन् । दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरूले प्रक्षेपणसम्बन्धी विवरणको विश्लेषण गरिरहेका छन् ।

    दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको कुनै पनि उक्साहटको जवाफ दिन तयारी अवस्थामा रहेको र मिसाइल प्रक्षेपणबारे अमेरिका तथा जापानसँग नजिकको समन्वय र सूचना आदानप्रदान भइरहेको जनाएको छ । जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले कम्तीमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै यसले जापान मात्र नभई, क्षेत्र र विश्वको शान्ति तथा सुरक्षालाई गम्भीर खतरा पुर्‍याएको बताए ।

    विशेषज्ञहरूका अनुसार यी प्रक्षेपणहरू उत्तर कोरियाले हालैका हप्ताहरूमा देखाउँदै आएको हतियार प्रदर्शनको पछिल्लो कडी हुन् । उत्तर कोरियाले आगामी सत्तारूढ वर्कर्स पार्टीको सम्मेलनअघि रक्षा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू देखाउने वा समीक्षा गर्ने उद्देश्य राखेको हुनसक्ने विश्लेषण गरिएको छ । यो सम्मेलन पाँच वर्षपछि पहिलोपटक हुने अपेक्षा छ । पर्यवेक्षकहरूका अनुसार सम्मेलनले अमेरिकासँगको नीतिगत दिशा र लामो समयदेखि रोकिएका वार्ताहरू पुनः सुरु हुने–नहुने सङ्केत दिन सक्छ ।

    उत्तर कोरियाली नेता किम जोङ–उनले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ता विफल भएपछि आणविक हतियार विस्तारमा ध्यान केन्द्रित गर्दै आएका छन् । युक्रेन युद्धको पृष्ठभूमिमा रुससँगको सहकार्य र चीनसँगको सम्बन्ध सुदृढ गर्दै उनले कूटनीतिक प्रभाव बढाएको विश्लेषण छ । दक्षिण कोरियाको गुप्तचर सेवाका अनुसार पार्टी सम्मेलन जनवरी वा फेब्रुअरीमा हुनसक्ने सम्भावना छ ।

    आइतबारको प्रक्षेपण राष्ट्रपति लीको चारदिने चीन भ्रमणअघि भएको हो । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता गर्दै उत्तर कोरियाको प्रमुख सहयोगी तथा ठूलो व्यापारिक साझेदार चीनलाई कोरियाली प्रायद्वीपमा शान्ति प्रवद्र्धनका लागि रचनात्मक भूमिका खेल्न आग्रह गर्ने तयारीमा छन् । दक्षिण कोरिया र अमेरिकाले लामो समयदेखि उत्तर कोरियालाई वार्तामा फर्काउन चीनको प्रभाव प्रयोग गर्न अनुरोध गर्दै आएका छन्, तर बेइजिङको वास्तविक प्रभाव कति छ भन्नेबारे प्रश्न उठ्दै आएको छ । पछिल्ला वर्षहरूमा उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने प्रयासलाई चीन र रुसले बारम्बार अवरुद्ध गरेका छन् ।

    प्रक्षेपणपछि दक्षिण कोरियाले आपतकालीन राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएको थियो । बैठकमा अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्ताव उल्लङ्घन हुने गरी गरिने ब्यालेस्टिक मिसाइल प्रक्षेपण तत्काल रोक्न उत्तर कोरियालाई आग्रह गरेका छन् । परिषद्को छलफल र आवश्यक कदमबारे राष्ट्रपति लीलाई जानकारी गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    यसैबीच, उत्तर कोरियाले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीबारे कुनै टिप्पणी गरेको छैन । शनिबार अमेरिकाले भेनेजुएलाका नेता निकोलस मदुरोलाई नियन्त्रणमा लिई अमेरिका लगेको घटनापछि क्षेत्रीय तथा विश्व राजनीतिमा तरङ्ग देखिएको छ । सियोलस्थित इवा वुमन्स युनिभर्सिटीका अन्तर्राष्ट्रिय अध्ययन प्राध्यापक लीफ–एरिक इस्लीका अनुसार यस्ता घटनाले किम जोङ–उनजस्ता नेताहरूलाई आणविक प्रतिरोध क्षमतामा अझ जोड दिन प्रेरित गर्न सक्छ ।

    उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले आइतबार किमले शनिबार एक हतियार कारखानाको निरीक्षण गरी त्यहाँ उत्पादित बहुउद्देश्यीय सटीक निर्देशित हतियारहरूको समीक्षा गरेको जनाएको छ । उनले उत्पादन क्षमता करिब २.५ गुणा बढाउन निर्देशन दिएको उल्लेख गरिएको छ । गत साता उत्तर कोरियाले लामो दूरीको रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको थियो भने डिसेम्बर २५ मा पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाउने तस्बिरहरू सार्वजनिक गरेको थियो । रासस

     

     

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend