देउखुरी । लुम्बिनी प्रदेश सभाले दलित अधिकार सुनिश्चित गर्ने उद्देश्यले तयार पारिएको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। सातौं अधिवेशनको १४ औं बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक पारित भएको घोषणा गर्नुभयो।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रस्तुत गरेको ‘दलितको अधिकार सम्बन्धी विधेयक’ छलफलपछि सर्वसम्मतिले पारित भएको हो। बैठकमा अन्य महत्वपूर्ण विधेयक र प्रतिवेदनहरू पनि प्रस्तुत भएका छन्।
कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘जीवनाशक विषादी व्यवस्थापन तथा नियमन’ सम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्नुभयो भने भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा राख्नुभयो।
यसैबीच, प्रदेश सभा सदस्यहरूले जनजीवनसँग प्रत्यक्ष जोडिएका विविध विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। सदस्य भुवनेश्वर चौधरीले राज्यले जनताको संरक्षण गर्नुपर्नेमा उल्टै दुःख दिने अवस्था सिर्जना भएको टिप्पणी गर्दै विकास बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो।
संघीय भन्सार नीतिले सर्वसाधारणलाई मारमा पारेको उहाँको भनाइ थियो। प्रदेश सभा सदस्य शान्ति लोदले रुपन्देहीको मायाँदेवी क्षेत्रमा देखिएको नागरिकता समस्याको विषय उठाउनुभयो भने निलम पास्वानले पूर्व परासीदेखि बर्दियासम्म यातायात सेवा विस्तारको माग गर्नुभयो।
उहाँले भन्सार कडाइका कारण गरिब नागरिकको दैनिक जीवन प्रभावित भएको पनि उल्लेख गर्नुभयो। इन्धन मूल्यवृद्धिले जनजीवन महँगिएको भन्दै सदस्य भगवतीकुमारी थरुनीले मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभयो।
त्यस्तै, सुधाकर पाण्डेयले सीमावर्ती क्षेत्रमा भन्सार नीतिका कारण समस्या बढेको भन्दै विवाह र धार्मिक कार्यका सामग्री ल्याउन सहजता दिनुपर्ने बताउनुभयो।
इ–रिक्सा चालकहरूको समस्या उठाउँदै अम्बिका काफ्लेले लाइसेन्स प्रक्रियालाई व्यावहारिक बनाउनुपर्ने धारणा राख्नुभयो। धेरै चालक निरक्षर भएकाले लिखित परीक्षा प्रणाली बाधक बनेको भन्दै मौखिक र प्रयोगात्मक परीक्षणको व्यवस्था गर्न सुझाव दिनुभयो।
संविधानको पालना र सुशासनको आवश्यकता औंल्याउँदै रेवती गुरुङले सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो भने दिलकुमारी बुढाले प्रदेशअन्तर्गतका कार्यालयहरू जनताप्रति उत्तरदायी हुन नसकेको गुनासो गर्नुभयो।
बसन्ती न्यौपानेले बजेट निर्माण प्रक्रियालाई सरल र प्रभावकारी बनाउन आग्रह गर्नुभयो। लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको १५ औं बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ।