काठमाडौं । यतिबेला भारतको सामाजिक सञ्जालमा एउटा अनौठो “राजनीतिक पार्टी” निकै चर्चामा छ, जसको नाम “ककरोच जनता पार्टी” (सीजेपी) राखिएको छ । सुरुमा सामान्य मजाक र व्यंग्यका रूपमा सुरु भएको यो डिजिटल अभियान अहिले इन्टरनेटमा एउटा ठूलो ट्रेन्ड बनेको छ । भारतमा नयाँ राजनीतिक दल गठन हुनु कुनै नौलो विषय नभए पनि यसपटकको कथा भने बिल्कुलै फरक छ । यहाँ न त कुनै ठूलो राजनीतिक सभा आयोजना गरियो, न कुनै भव्य मञ्च नै सजाइयो । बिना झण्डा र बिना भीड, सम्पूर्ण रूपमा सामाजिक सञ्जालबाट सुरु भएको यो अभियानले छोटो समयमै इन्टरनेटभर ठूलो सनसनी मच्चाएको छ र स्थापनाको केही दिनमै हजारौँ मानिस यसमा जोडिएका छन् ।
यो अनौठो अभियानको पृष्ठभूमि बेरोजगारी र एउटा विवादास्पद अभिव्यक्तिसँग जोडिएको छ । त्यहाँको सर्वोच्च अदालतका प्रमुख न्यायाधीशले बेरोजगार युवाहरूबारे टिप्पणी गर्दै उनीहरू अल्छी भएको अभिव्यक्ति दिएका थिए र उनीहरूलाई ककरोच (साङ्लो) सँग दाँजेका थिए । प्रधानन्यायाधीशको उक्त टिप्पणी सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा तीव्र आक्रोश र बहस सुरु भयो । कतिपयले यसप्रति घोर असन्तुष्टि जनाए भने केहीले आफ्नै शैलीमा विरोध प्रकट गर्न थाले । यही क्रममा आम आदमी पार्टीका पूर्व सामाजिक सञ्जाल कार्यकर्ता अभिजीत दिपकेले एउटा नयाँ अवधारणा अघि सार्दै व्यंग्यात्मक शैलीमा “ककरोच जनता पार्टी” को सुरुवात गरे, जसले छोटो समयमै ७० हजारभन्दा बढी अनलाइन सदस्य बनाएको दाबी गरिएको छ ।
सुरुमा धेरैले यसलाई केवल हास्यव्यंग्य मात्र ठाने पनि विस्तारै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई व्यवस्थाविरुद्धको एउटा बलियो प्रतीकका रूपमा हेर्न थालेका छन् । यस अभियानसँग जोडिएका व्यक्तिहरूका अनुसार यो राज्य र व्यवस्थाद्वारा बेवास्ता गरिएका, सीमान्तकृत र बेरोजगार मानिसहरूको आवाज हो । पार्टीको वेबसाइटमा पनि यसलाई बेरोजगार र उपेक्षित वर्गका मुद्दा उठाउने साझा मञ्चका रूपमा प्रस्तुत गरिएको छ । आफूलाई लामो समयदेखि व्यवस्था र राज्यसत्ताबाट अलग महसुस गर्ने मानिसहरूको आवाज भन्दै तय गरिएको यसको मुख्य ट्यागलाइनले अहिले धेरैको ध्यान तानेको छ ।
यो भर्चुअल पार्टीको सबैभन्दा धेरै चर्चा यसको घोषणापत्रले पाएको छ । अन्य स्थापित राजनीतिक दलहरूले जस्तै ककरोच जनता पार्टीले पनि आफ्ना सामाजिक प्रतिबद्धताहरू सार्वजनिक गरेको छ । घोषणापत्रमा नीति निर्माण र नेतृत्वमा महिलाका लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गर्ने, सञ्चारमाध्यमको निष्पक्षता कायम गर्ने तथा आफ्नो स्वार्थका लागि बारम्बार राजनीतिक दल परिवर्तन गर्ने प्रवृत्तिविरुद्ध कडा कानुनी कदम चाल्ने जस्ता गम्भीर विषयहरू समावेश गरिएका छन् । घोषणापत्रको अन्त्यमा यसलाई बारम्बार पढ्न र अरूसम्म पुर्याउन गरिएको अपिलका कारण अहिले यसका स्क्रिनसटहरू सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेका छन् । यद्यपि यसलाई अहिले एउटा डिजिटल व्यंग्यात्मक अभियानकै रूपमा हेरिएको छ, तर यसले बेरोजगारी र राज्यको रवैयाप्रति युवाहरूमा रहेको चरम असन्तुष्टिलाई प्रष्ट पारेको छ ।