बेरुत । इजरायल र लेबनान बीच युद्धविराम कायम रहेकै अवस्थामा दक्षिण लेबनानमा फेरि हिंसा चर्किएको छ । इजरायली सेनाले दक्षिणी क्षेत्रमा गरेको पछिल्लो हवाई आक्रमणमा दुई सशस्त्र व्यक्तिको मृत्यु भएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले टेलिग्राममार्फत जारी गरेको वक्तव्यमा दक्षिण लेबनानमा इजरायली सीमाबाट केही सय मिटर दूरीमा हिँडिरहेका दुई सशस्त्र व्यक्तिलाई निगरानीपछि लक्षित गरी हवाई आक्रमण गरिएको उल्लेख गरिएको छ ।
यता लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएका अनुसार दक्षिणी टायर जिल्लास्थित इस्लामिक स्वास्थ्य समितिको केन्द्रमा रातभर भएको आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै दुई चिकित्सक घाइते भएका छन् । युद्धविराम विस्तार भए पनि इजरायल र इरान समर्थित हेजबुल्लाह बीच दक्षिणी लेबनान क्षेत्रमा नियमित गोलीबारी र सैन्य गतिविधि जारी रहेको छ ।
गत अप्रिल १७ देखि लागू भएको युद्धविरामपछि पनि इजरायलले हेजबुल्लाहलाई लक्षित गर्दै दक्षिण लेबनानमा हवाई आक्रमण र निकासी आदेश जारी गरिरहेको बताइएको छ । त्यसअघि अमेरिका–इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेताको हत्या भएको भन्दै हेजबुल्लाहले मार्च २ मा इजरायलतर्फ रकेट प्रहार गरेको थियो । त्यसको जवाफमा इजरायली सेनाले सीमावर्ती क्षेत्रमा हवाई तथा स्थलगत आक्रमण तीव्र बनाएको थियो ।
लेबनान स्वास्थ्य मन्त्रालय का अनुसार क्षेत्रीय युद्ध सुरु भएयता इजरायली आक्रमणमा कम्तीमा तीन हजार ८९ जनाको मृत्यु भइसकेको छ । यता इजरायली सेनाले संघर्षका क्रममा आफ्ना २२ सैनिक मारिएको जनाएको छ । हालै वासिङ्टन मा लेबनानी र इजरायली प्रतिनिधिबीच भएको तेस्रो चरणको प्रत्यक्ष वार्तापछि अस्थायी युद्धविराम ४५ दिनका लागि थप गरिएको थियो, जसको हेजबुल्लाहले कडा विरोध गर्दै आएको छ ।