काठमाण्डौ – भारतमा केही दिनदिन व्यापक चर्चा भइरहेको कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले सीजेपीको वेबसाइट बन्द भएको जानकारी दिनुभएको छ । अभिजीत दीपकेले आज आफ्नो एक्स ह्यान्डलमा लेख्दै सरकारले आफूहरुको लोकप्रिय वेबसाइट बन्द गरिदिएको दाबी गर्नुभएको छ ।
उहाँका अनुसार वेबसाइटमा १० लाख कक्रोच सदस्य बनेका थिए र उनीहरुमध्ये ६ लाख जनाले शिक्षामनत्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको निवेदनमा हस्ताक्षर गरेका थिए । दीपकेले सरकार कक्रोचसँग यति धेरै किन डराएको छ ? भन्ने प्रश्न गर्दै आफूहरु अहिले एउटा नयाँ घर बनाइरहेका र कक्रोच कहिल्यै नमर्ने बताउनुभएको छ ।
यसअघि आजै आफ्नो एक्स ह्यान्डलमा लेख्दै अभिजीत दीपकेले सीजेपीको इन्स्टाग्राम पेज ह्याक भएको र एक्स अकाउन्टमा पनि रोक लगाइएको बताउनुभएको थियो । सीजेपीको इन्स्टाग्राम पेजमा २ करोड २० लाख फलोअर्स पुगेका छन् ।
जुन सङ्ख्या सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को इन्स्टाग्राम पेजमा भएको भन्दा साढे दुई गुणा धेरै हो । दीपकेले कक्रोच जनता पार्टीको अब कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा पहुँच नरहेको भन्दै यसपछि आउने कुनै पनि पोस्टलाई कक्रोच जनता पार्टीको आधिकारिक धारणा नमान्न अपिल गर्नुभएको छ ।