किभ । रुसले आइतबार रातभरि युक्रेनको राजधानी किभमा मिसाइल र ड्रोनको प्रयोग गरी भीषण हमला गरेको छ। युक्रेनी वायुसेनाका अनुसार रुसले एकै रात ९० वटा मिसाइल र ६०० वटा ड्रोन प्रहार गरेको हो, जसलाई अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले रूस-युक्रेन युद्ध सुरू भएयताकै सबैभन्दा ठूलो आक्रमणमध्येको एक भनेर उल्लेख गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस आक्रमणमा आणविक हतियार बोक्न सक्ने नयाँ पुस्ताको 'ओरेसनिक' हाइपरसोनिक मिसाइल समेत प्रहार गरिएको थियो। यो भीषण आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने झन्डै एक सय जना घाइते भएका छन्। आक्रमणको त्रासका कारण हजारौँ स्थानीयवासीले रातभर मेट्रो स्टेशनमा आश्रय लिनुपरेको थियो।
यस विनाशकारी हमलाबाट युक्रेनको मन्त्रिपरिषद् भवन र विदेश मन्त्रालयमा सामान्य क्षति पुगेको छ भने राजधानीको राष्ट्रिय कला संग्रहालय, फिलहार्मोनिक हल र सन् १९८६ को चर्नोबिल आणविक दुर्घटनाप्रति समर्पित नयाँ संग्रहालयसहित दर्जनौँ आवासीय भवन, विद्यालय तथा ऐतिहासिक संरचनाहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहरका करिब ३० वटा भवन ध्वस्त भएको जानकारी दिँदै अन्तर्राष्ट्रिय समुदायलाई रूसविरूद्ध कडा कदम चाल्न आग्रह गर्नुभएको छ। जेलेन्स्कीका शीर्ष सल्लाहकार किरिलो बुदानोभले यसलाई युक्रेनी पहिचानमाथिको हमला भनेका छन्।
यसैबीच, युरोपेली नेताहरू, बेलायत र जर्मनीले रुसको यस कदमको कडा निन्दा गरेका छन्। उनीहरूले मध्यम दूरीको ‘ओरेसनिक’ क्षेप्यास्त्र प्रयोग गरेर रूसले युद्धलाई खतरनाक मोडमा पुर्याउन र आणविक त्रास फैलाउन खोजेको आरोप लगाएका छन्। यता रुसी रक्षा मन्त्रालयले भने युक्रेनले आफ्ना नागरिक संरचनामाथि गरेको हमलाको जवाफस्वरूप ओरेसनिक, इस्कान्दर, किन्झाल र जिर्कोन क्षेप्यास्त्र प्रयोग गरिएको दाबी गरेको छ। रुसले आफ्नो निशाना युक्रेनी सैन्य कमान्ड केन्द्र, हवाई अड्डा र सैन्य उद्योग मात्र रहेको र नागरिकलाई निशाना नबनाएको दाबी गरे पनि युद्धका क्रममा युक्रेनी सहरहरूमा भएका बमबारीबाट हजारौँ सर्वसाधारण मारिइसकेका छन्। युद्ध सुरु भएयता तेस्रो पटक प्रयोग गरिएको यो ओरेसनिक मिसाइल उच्च गति र शक्तिशाली आक्रमण क्षमता भएको र यसलाई अत्याधुनिक एयर डिफेन्स सिस्टमले रोक्नसमेत कठिन हुने बताइन्छ।