Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वका संकटबीच संयुक्त राष्ट्र महासभा : शान्ति, जलवायु न्याय र विकासका मुद्दामा विश्वको ध्यान


२४, भदौ २०८३
  • 77
    SHARES
  • विश्वका संकटबीच संयुक्त राष्ट्र महासभा : शान्ति, जलवायु न्याय र विकासका मुद्दामा विश्वको ध्यान

    न्युयोर्क (अमेरिका) । युद्ध, द्वन्द्व, जलवायु परिवर्तन, गरिबी, असमानता, आणविक जोखिम र बढ्दो विश्वव्यापी विभाजनका बीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारदेखि अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा सुरु भएको छ। करिब २० दिनसम्म चल्ने महासभा आगामी सेप्टेम्बर २९ सम्म जारी रहनेछ।

    ‘विश्वासको पुनस्र्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारासहित सुरु भएको यस वर्षको महासभालाई विश्वव्यापी संकटका बीच बहुपक्षीय सहकार्य र अन्तर्राष्ट्रिय विश्वास पुनःस्थापित गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।

    महासभाको उद्घाटन बैठकलाई अध्यक्ष खालिलुर रहमान र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दै विश्वले सामना गरिरहेका जटिल चुनौतीको समाधानका लागि साझा प्रयास, संवाद र प्रभावकारी अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

    महासभाका अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय र जलवायु परिवर्तनजस्ता जल्दाबल्दा विषयमा गम्भीर तथा परिणाममुखी छलफल हुने विश्वास व्यक्त गरे। उनले अहिलेको महासभाबाट विश्वव्यापी समस्याको सम्बोधनका लागि ठोस निष्कर्ष र सामूहिक प्रतिबद्धता आउने अपेक्षा पनि व्यक्त गरे।

    यस वर्षको महासभामा दिगो विकासका लक्ष्य कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार, मानवीय संकट, डिजिटल गभर्नेन्स, प्रविधिको प्रभावकारी उपयोग तथा बहुपक्षीय हितका लागि संयुक्त राष्ट्रसङ्घको पुनर्संरचना जस्ता विषय प्रमुख रूपमा उठ्नेछन्।

    महासचिव गुटेरेसले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्व र बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै बदलिँदो विश्व परिस्थितिमा संकट समाधानका लागि उपयुक्त रणनीति र प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताए।

    उनले जलवायु परिवर्तन, गरिबी, दिगो विकासको चुनौती, युद्ध तथा द्वन्द्व, सामाजिक विभाजन र आणविक जोखिमले विश्वलाई एकैसाथ प्रभावित बनाइरहेको उल्लेख गरे। यस्ता चुनौती कुनै एक राष्ट्रले मात्र समाधान गर्न नसक्ने भन्दै उनले आपसी सहयोग, संवाद र सहकार्यलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।

    उनका अनुसार संयुक्त राष्ट्रसङ्घीय महासभा विश्वका राष्ट्रलाई साझा समस्यामा एकै ठाउँमा ल्याएर समाधान खोज्ने सबैभन्दा महत्वपूर्ण बहुपक्षीय मञ्चमध्ये एक हो।

    नेपालको अपेक्षा : संवादबाट शान्ति र जलवायु न्याय

    महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपालको स्थायी नियोगले विज्ञप्ति जारी गर्दै ८१औँ महासभाबाट रचनात्मक, सार्थक र उपलब्धिमूलक संवादको अपेक्षा गरिएको जनाएको छ।

    नेपालले महासभामार्फत संवाद र सामूहिक प्रयासलाई बलियो बनाउँदै विश्वशान्ति, दिगो विकास, मानवीयता र जलवायु न्याय का क्षेत्रमा प्रभावकारी काम गर्न इच्छुक रहेको पनि जनाएको छ।

    स्थायी नियोगले संयुक्त राष्ट्रसङ्घीय महासभाको अध्यक्षका रूपमा पदभार ग्रहण गरेका बङ्गलादेशी कूटनीतिज्ञ खालिलुर रहमानलाई बधाईसमेत ज्ञापन गरेको छ।

    कम विकसित राष्ट्रका पक्षमा नेपालको आवाज

    यसैबीच, नेपालले कम विकसित राष्ट्रहरूको विकासका लागि विश्व समुदायसँग थप प्रभावकारी सहयोग र परिणाममुखी प्रतिबद्धताको माग गरेको छ।

    संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित राष्ट्रहरू सम्मिलित अफ्रिकी मुलुकहरूको मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकमा सम्बोधन गर्दै विकासको गति बढाउन विश्वव्यापी ऐक्यबद्धता आवश्यक रहेको बताएका छन्।

    कम विकसित राष्ट्रहरूको समूहगत अध्यक्षको हैसियतले सम्बोधन गर्दै थापाले उत्पादन क्षमता वृद्धि, डिजिटलाइजेसन, जलवायु परिवर्तनको असर सामना गर्ने क्षमता विकास, क्षेत्रीय व्यापार विस्तार, सामाजिक सुरक्षा तथा दिगो विकासका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले प्रतिबद्धताअनुसार काम गर्नुपर्नेमा जोड दिए।

    उनले कम विकसित राष्ट्रहरूलाई केवल प्रतिबद्धता र आश्वासनभन्दा पनि ठोस कार्यान्वयन र प्रत्यक्ष परिणाम आवश्यक रहेको सन्देश दिएका छन्।

    विश्व राजनीति र अर्थतन्त्र तीव्र रूपमा परिवर्तन भइरहेका बेला सुरु भएको ८१औँ संयुक्त राष्ट्रसङ्घीय महासभालाई विश्वले ठूलो चासोका साथ हेरिरहेको छ। युद्ध र द्वन्द्वको अन्त्य, जलवायु न्याय, गरिबी न्यूनीकरण, दिगो विकास तथा विश्वव्यापी सहकार्यका सवालमा यस महासभाले कस्तो साझा मार्गचित्र तयार गर्छ भन्ने विषय अन्तर्राष्ट्रिय समुदायका लागि महत्वपूर्ण बन्नेछ। रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend