बुटवल । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
बुधबार अपिल जारी गर्दै मुख्यमन्त्री आचार्यले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव तथा तराई र शहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताएका छन्। नदी, खोला तथा नालामा पानीको सतह बढ्नुका साथै सडक तथा यातायात प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
नदी तथा खोला किनार, पहिरोको जोखिम भएका बस्ती र अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्न मुख्यमन्त्री आचार्यले अनुरोध गरेका छन्।
धानबाली जोगाउन किसानलाई आग्रह
धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था हेरेर कृषि विज्ञको सल्लाहअनुसार आवश्यक तयारी गर्न पनि मुख्यमन्त्रीले आग्रह गरेका छन्। वर्षाका समयमा जोखिम मोलेर खेतबारीमा काम नगर्न र सम्भव भएसम्म अन्नबाली सुरक्षित स्थानमा व्यवस्थापन गर्न उनले सुझाव दिएका छन्।
सम्भावित विपद्लाई ध्यानमा राख्दै प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायलाई पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन गरिएको मुख्यमन्त्री आचार्यले बताएका छन्।
भारी वर्षाका बेला अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, नदी तथा खोलामा नजान र बाढी तथा डुबान भएका सडकबाट आवतजावत नगर्न उनले प्रदेशवासीलाई आग्रह गरेका छन्।
त्यस्तै, मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन तथा पर्यटन, निर्माणलगायत जोखिमयुक्त गतिविधिमा संलग्न व्यक्ति र संस्थालाई आवश्यक सावधानी अपनाउन पनि मुख्यमन्त्रीले अनुरोध गरेका छन्।
सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न सरकारी तयारीसँगै नागरिकको सतर्कता र सहकार्य पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै मुख्यमन्त्री आचार्यले जोखिममा रहेका व्यक्ति, परिवार तथा समुदायलाई समयमै पूर्वतयारी अपनाई सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्न अपिल गरेका छन्।