अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ। उहाँले आगामी १५औँ महाधिवेशनलाई एकता, सहमति र संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाले लुम्बिनी प्रदेशको सभापतिमा आफ्नो उम्मेदवारी रहेने बताउनुभयो ।
नेपाली कांग्रेस मालारानी गाउँपालिकाको १५औँ अधिवेशन उद्घाटन समारोहमा बुधबार बोल्दै खनालले अर्घाखाँचीमा सम्पन्न वडा अधिवेशनहरूमा देखिएको सर्वसम्मत नेतृत्व चयनको अभ्यासले पार्टीभित्र सकारात्मक एकताको सन्देश दिएको बताउनुभयो।
“अहिलेको अवस्थामा कांग्रेस एक भएर अघि बढ्नुको विकल्प छैन। अर्घाखाँचीमा वडा अधिवेशनहरू सर्वसम्मत रूपमा सम्पन्न भएका छन्। यही एकताको भावनालाई पालिका हुँदै जिल्ला,प्रदेश र केन्द्रसम्म निरन्तरता दिनुपर्छ,” उहाँले भन्नुभयो।
नेपाली काङ्ग्रेस पुर्ब जिल्ला सभापति समेत रहेका खनालले मालारानी गाउँपालिकासहित जिल्लाका बाँकी तहमा पनि आपसी समझदारी र सहमतिका आधारमा नेतृत्व चयन गर्न सकिने बताउनुभयो। पार्टीभित्र प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास भए पनि प्रतिस्पर्धापछि पनि संगठनात्मक एकता कायम राख्नु कांग्रेसको प्राथमिकता हुनुपर्ने उहाँको भनाइ थियो।
उहाँले १५औँ महाधिवेशनमार्फत कांग्रेसलाई अझ व्यवस्थित, गतिशील र जनतासँग प्रत्यक्ष जोडिएको संगठनका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। वडा तहदेखि नै सहमति, सहकार्य र एकताको संस्कार बलियो बनाउन सके त्यसको सकारात्मक प्रभाव पार्टीको माथिल्लो तहसम्म पुग्ने उहाँले बताउनुभयो।
कार्यक्रममा सहमहामन्त्री खनालले भन्नुभयो आफू नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिको जिम्मेवारीका लागि उम्मेदवारी दिने तयारीमा रहेको स्पष्ट पार्नुभयो।पार्टीका नेतृत्व तहसँग यस विषयमा छलफल भइरहेको जानकारी दिँदै उहाँले आगामी महाधिवेशनमा आफूलाई विश्वास गरी मतदान गर्न प्रतिनिधिहरूसँग आग्रहसमेत गर्नुभयो।
“लुम्बिनी प्रदेशको सभापतिको विषयमा पार्टीका नेतृत्वसँग मेरो कुरा भइरहेको छ। पार्टीलाई थप एकताबद्ध र व्यवस्थित बनाउन प्रदेशको नेतृत्वमा जिम्मेवारी लिएर काम गर्ने मेरो तयारी छ। आगामी महाधिवेशनमा मलाई विश्वास गरेर मतदान गरिदिनुहुन सबै प्रतिनिधिसँग अनुरोध गर्दछु,” खनालले भन्नुभयो।
खनालले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसँग जोडिएको बताउनुभयो। प्रदेशका सबै जिल्ला, क्षेत्र र स्थानीय तहलाई समान रूपमा समेट्दै संगठन विस्तार र कार्यकर्ताको मनोबल उच्च बनाउने दिशामा आफूले प्राथमिकता दिने उहाँको भनाइ थियो।
उहाँले पार्टीभित्र सबै पुस्ता र पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै अग्रजको अनुभव र युवाको ऊर्जालाई एकीकृत गर्न सके कांग्रेस अझ बलियो बन्ने बताउनुभयो।