Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारी वर्षाको चेतावनीपछि कोशीमा उच्च सतर्कता, राति सवारीदेखि पदयात्रासम्म रोक


८, असोज २०८३
  • 62
    SHARES
  • भारी वर्षाको चेतावनीपछि कोशीमा उच्च सतर्कता, राति सवारीदेखि पदयात्रासम्म रोक

    विराटनगर । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने चेतावनी जारी भएपछि कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाइएको छ। बाढी, पहिरो, गेग्रान बहाव तथा सडक अवरुद्ध हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले आवागमनदेखि पदयात्रासम्ममा कडाइ गरेका छन्।

    जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालयहरूले जोखिमयुक्त क्षेत्र पहिचान गर्दै पूर्वतयारी तीव्र बनाएका हुन्। लगातारको वर्षाले कमजोर भिरालो जमिनमा पहिरो तथा गेग्रान बहाव आउन सक्ने र तमोर, अरुणसहितका नदी तथा खोला–खहरेमा आकस्मिक बाढी आउनसक्ने जोखिम औँल्याइएको छ।

    राति सवारी सञ्चालनमा रोक

    धनकुटा प्रशासनले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि केही प्रमुख सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। भेडेटार–रवि–राँके सडक, मूलघाटदेखि पाँचथर सीमासम्मको तमोर कोरिडोर तथा भेडेटार हुँदै अन्य पहाडी जिल्ला जोड्ने सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन निषेध गरिएको छ।

    सडकमा पहिरो खसेर आवागमन अवरुद्ध भए तत्काल खुलाउन जोखिमयुक्त स्थानमा डोजर, एक्साभेटर र लोडरलगायतका हेभी उपकरण तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।

    इलाम प्रशासनले पनि असोज ८ गते बेलुकादेखि असोज ११ गते बिहानसम्म हरेक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभरका सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। मेची राजमार्ग, मेची करिडोरलगायतका सडकमा अत्यावश्यक अवस्थाबाहेक रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

    पदयात्रा र पर्यटकीय गतिविधिमा समेत रोक

    भोजपुर प्रशासनले पदयात्रीको सुरक्षालाई ध्यानमा राख्दै मुन्धुम पदमार्गमा भइरहेको पदयात्रा तत्काल रद्द गरी सुरक्षित स्थानमा फर्किन आग्रह गरेको छ। केही दिनका लागि उक्त पदमार्गमा नयाँ पदयात्रा गर्नसमेत रोक लगाइएको छ।

    ताप्लेजुङ प्रशासनले कञ्चनजङ्घा संरक्षण क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई तत्काल यात्रा स्थगित गरी सुरक्षित स्थानमा बस्न वा फर्किन निर्देशन दिएको छ।

    संखुवासभामा पनि मुख्य राजमार्गबाहेकका भित्री तथा कच्ची सडकमा बेलुका ६ बजेपछि सवारी सञ्चालनमा रोक लगाइएको छ। नदी तथा खोला किनारका होटल र रेस्टुराँमा अनावश्यक जमघट नगर्न, रातिको समयमा हिँडडुल नगर्न तथा माछा मार्ने कार्यसमेत नगर्न प्रशासनले आग्रह गरेको छ।

    सोलुखुम्बुमा ग्रामीण सडक रातभर बन्द

    सोलुखुम्बुमा पहिरो र गेग्रान बहावका साथै दुधकोशी तथा स्थानीय खोला–नदीमा जलसतह बढ्नसक्ने जोखिमलाई ध्यानमा राख्दै ग्रामीण तथा भित्री सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

    जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म ती सडकमा सवारी सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।

    नदी किनार तथा पहिरोको जोखिम भएका भिरालो स्थानमा सवारी पार्किङ नगर्न र उद्धारका लागि आवश्यक सवारीसाधन तयारी अवस्थामा राख्न यातायात व्यवसायीलाई निर्देशन दिइएको छ।

    दुधकोशी तथा आसपासका खोला किनारमा बसोबास गर्ने नागरिकलाई आकस्मिक बाढीको जोखिमप्रति सचेत रहन र आवश्यक परे स्थानीय तहसँग समन्वय गरी सुरक्षित स्थानमा सर्न प्रशासनले आग्रह गरेको छ।

    जोखिमयुक्त जिल्लामा पूर्वतयारी तीव्र

    उदयपुर, खोटाङ, तेह्रथुम र पाँचथर प्रशासनले पनि जोखिमयुक्त क्षेत्र पहिचान गरी उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेका छन्। बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ।

    महत्त्वपूर्ण कागजात, खाद्यान्न तथा अत्यावश्यक सामग्री सुरक्षित राख्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्नसमेत नागरिकलाई अनुरोध गरिएको छ।

    सम्भावित विपद्लाई ध्यानमा राख्दै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ। जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक परे विपद् आउनुअघि नै सुरक्षित स्थानमा सार्ने गरी स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

    कोशी प्रदेश सरकारका प्रवक्ता गोम्बु शेर्पाका अनुसार उद्धार तथा राहतका लागि रेडक्रसलगायतका संस्थालाई समेत तयारी अवस्थामा राखिएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हवाई उडान, सडकको अवस्था तथा हिमाली क्षेत्रमा हुनसक्ने भारी हिमपातको अवस्थासमेत निरन्तर निगरानी गरिरहेको जनाएको छ। प्राधिकरणले नागरिकलाई आधिकारिक सूचनामात्र पछ्याउन र आपत्कालीन अवस्थामा सम्बन्धित निकायका हटलाइनमा सम्पर्क गर्न आग्रह गरेको छ।

    भारी वर्षाको सम्भावनासँगै कोशीका पहाडी र हिमाली जिल्लामा प्रशासनले अपनाएको कडाइलाई सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि गरिएको पूर्वतयारीका रूपमा हेरिएको छ। आगामी केही दिन मौसम प्रतिकूल रहने सम्भावनाका कारण नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र तथा हिमाली पदमार्गमा थप सतर्कता आवश्यक देखिएको छ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend