Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा उच्च सतर्कता, पाँच सडकखण्ड राति बन्द


इ खबर
८, असोज २०८३
  • 15
    SHARES
  • भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा उच्च सतर्कता, पाँच सडकखण्ड राति बन्द

    बुटवल । असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि प्रदेशदेखि स्थानीय तहसम्म विपद् पूर्वतयारी तीव्र पारिएको छ। सम्भावित बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई उच्च सतर्क अवस्थामा राखिएको हो।

    लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले प्रदेशका १२ वटै जिल्ला र १०९ स्थानीय तहलाई पत्राचार गर्दै सम्भावित विपद्का लागि आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको छ।

    मन्त्रालयका निमित्त सचिव सुरेशचन्द्र आचार्यका अनुसार विपद्पूर्व, विपद्को समयमा र विपद्पश्चात् गर्नुपर्ने कामलाई ध्यानमा राख्दै प्रदेशभर उच्च सतर्कता अपनाइएको छ। उनका अनुसार जोखिमयुक्त क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक तयारी गर्न स्थानीय तह र सुरक्षा निकायलाई आग्रह गरिएको छ।

    राप्ती नदी किनारमा माइकिङ

    दाङमा सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर गण हेडक्वार्टर भालुवाङले राप्ती नदीको तटीय क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई नदी किनारमा नजान आग्रह गरेको छ।

    नदीमा पानीको सतह बढ्न सक्ने भएकाले माछा मार्न, दाउरा तान्न तथा गाईवस्तु चराउन नदी किनारमा नजान प्रहरीले अनुरोध गरेको हो। नदीको बहाव बढेको, पानी धमिलो भएको, ढुंगा वा रूख बगाउँदै आएको अथवा असामान्य आवाज सुनिए तत्काल अग्लो तथा सुरक्षित स्थानमा जानसमेत आग्रह गरिएको छ।

    दाङका पाँच सडकखण्ड राति बन्द

    भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले पाँचवटा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

    असोज ८ गतेदेखि लागू हुने गरी हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म ती सडकखण्डमा आवागमन बन्द रहनेछ। बाढी, पहिरो, भूक्षय तथा सडक अवरुद्ध हुनसक्ने जोखिमका कारण यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

    बन्द हुने सडकखण्डमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकखण्डको भालुवाङदेखि गनाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही–होलेरी, घोराही–मुर्कुटी तथा तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्म रहेका छन्।

    प्रशासनले यात्रुलाई तोकिएको समयअघि नै यात्रा व्यवस्थापन गर्न तथा सडक बन्दसम्बन्धी सूचनाको पालना गर्न आग्रह गरेको छ।

    तटीय बस्ती र खेतबारीमा विशेष सतर्कता

    नवलपरासी जिल्ला प्रशासन कार्यालयले नदी तथा तटीय क्षेत्रमा रहेका बस्तीलाई विशेष सतर्क रहन आग्रह गरेको छ। स्थानीय तहलाई पूर्वतयारी अवस्थामा रहन, नाली तथा पानी थुनिन सक्ने स्थान सफा राख्न र सम्भावित डुबानबाट बच्ने उपाय अपनाउन भनिएको छ।

    भारी वर्षाको सम्भावना रहेकाले धान तथा अन्य बाली काटिसक्न सम्भव भए सुरक्षित स्थानमा भित्र्याउनसमेत किसानलाई आग्रह गरिएको छ।

    दाङ प्रशासनले राप्ती, बबईलगायत जोखिमयुक्त क्षेत्र पहिचान गरी सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा राखेको जनाएको छ। अत्यावश्यक कामबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ।

    जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिनसमेत स्थानीय तहलाई आग्रह गरिएको छ।

    केही स्थानीय तहमा विद्यालय बन्द

    भारी वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढेपछि लुम्बिनी प्रदेशका केही स्थानीय तहले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन्।

    बुटवल उपमहानगरपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका तथा कपिलवस्तुका महाराजगन्ज र बुद्धभूमि नगरपालिकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै दुई दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन्।

    विद्यार्थीको सुरक्षा तथा विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखेर पठनपाठन स्थगन गरिएको स्थानीय तहहरूले जनाएका छन्।

    प्रदेशभर सुरक्षा निकाय तयारी अवस्थामा

    मौसम पूर्वानुमानसँगै प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निकाय, स्थानीय प्रशासन र स्थानीय तहबीच समन्वय बढाइएको छ। बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।

    प्रदेश सरकारले नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन, नदी तथा खोला किनारमा नजान, जोखिमयुक्त सडकमा यात्रा नगर्न र आपत्कालीन अवस्था आए तत्काल सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई खबर गर्न आग्रह गरेको छ।

    आगामी तीन दिन वर्षाको सम्भावना रहेकाले लुम्बिनी प्रदेशका नदी तटीय बस्ती, पहाडी भेग, कमजोर सडक तथा डुबान सम्भावित तराई क्षेत्रमा विशेष सतर्कता आवश्यक देखिएको छ। प्रशासनले मौसमको अवस्था हेरेर सडक आवागमन, शैक्षिक संस्था तथा अन्य गतिविधिबारे थप निर्णय लिनसक्ने जनाएको छ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend