काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा बिहीबार अस्वाभाविक वृद्धि भएको छ। एकैदिन सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेपछि सुनको भाउ हालसम्मकै उच्च स्तरतर्फ उक्लिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा सुनचाँदीको मूल्य निर्धारण गरिन्छ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार १४१.९९ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ५३.११ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको हो।