काठमाडौँ । तिहारको धनतेरस पर्वकै दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। लगातार बढिरहेको सुनको मूल्य एकैदिन तोलामा ५ हजार ९०० रुपैयाँले घटेपछि गहना तथा सुनका सिक्का खरिद गर्ने उपभोक्तालाई राहत मिलेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ३ हजार ९२० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि परेको हो। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४२.५१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ५१.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
धनतेरसका दिन सुन, चाँदी, तामा लगायतका धातु तथा भाँडाकुँडा खरिद गर्नुलाई धार्मिक रूपमा शुभ मानिन्छ। यस्तो अवसरमा बहुमूल्य धातुको मूल्य घटेपछि बजारमा खरिदकर्ताको आकर्षण बढ्ने र कारोबारमा समेत वृद्धि हुने व्यवसायीहरूको अपेक्षा छ।