इटहरी । एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताको खातामा रहेको पैसा चोरी गरेको आरोपमा प्रहरीले इटहरी शाखा प्रबन्धक सहित ९ जनालाई पक्राउ गरेको छ । उनीहरुले बचतकर्ताको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे-८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर- ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाल रहेको प्रहरीले जनाएको छ । उनीहरु सातै जना बैंकका कर्मचारी हुन् ।
उनीहरुले ३३ जना बचतकर्ताको खाताबाट गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालेको प्रहरीले जनाएको छ । त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालेको हो ।
आफ्नो खाताबाट एकाएक रकम हराएपछि ग्राहकले बैंकमा जानकारी गराएका थिए । बैंकले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो । पक्राउ परेकाहरुमाथि बैकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।