बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले यो व्यवस्थालाई स्वीकार गर्न नचाहनेहरुबाट यो या त्यो बहानामा संविधान र गणतन्त्रलाई कमजोर पार्ने कुचेष्टा भईरहेको बताएका छन् । १६ औं गणतन्त्र दिवसको अवसरमा सभामुख घर्तीले एक शुभकामना सन्देश जारी गर्दै गणतन्त्रको अनुभूति गर्न पाउने गरी काम गरेर देखाउनु पर्ने चुनौती रहेको उल्लेख गर्दै बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने, संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई अझ मजबुत बनाएर जानुपर्नेमा जोड दिए ।
उनले गणतन्त्र र संविधानमाथि प्रहार हुन सक्ने प्रति सचेत भई गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी रहेको बताउदै ‘संविधानको मर्म र भावना अनुसार अघि बढ्दै गणतन्त्र र संविधानको रक्षाको लागि एकजुट भई यसमा समर्पित हुन सबैलाई आग्रह गरे । उनले गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, जनआन्दोलन एवं विभिन्न चरणका संघर्षहरुमा बलिदानी दिने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुको साथै घाइते तथा अपाङ्गता हुनुभएकाहरु, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
सभामुख घर्तीले विभिन्न कालखण्डमा विभिन्न प्रकारका शासन व्यवस्थालाई अंगिकार गरेको तर ति व्यवस्थाले जनताकोे भावना र विचारलाई कदर गर्न नसकेकै कारण सबै क्षेत्र, वर्ग र समुदायको आशा र विश्वासको धरोहरको रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रामक व्यवस्थाको शुरुवात भएको बताए ।