बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रतिगमन विरुद्धको संघर्षको बेला तत्कालिन राजतन्त्रसँग सम्झौता गरेको भन्ने हल्ला बिल्कुलै कपोकल्पित र निराधार भएको भन्दै प्रतिगमन विरुद्ध संघर्षरत तत्कालिन सात दलका नेताहरुले हस्ताक्षर गरेको सम्झौता पत्र सार्वजनिक गर्न चुनौति दिएका छन् । १६ औं गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै शेरचनले अग्रगामी विचार राख्ने दलहरु बीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पुरा गर्न सक्ने दाबी गरे ।
प्रदेश प्रमुख शेरचनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमले राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्ने विश्वास व्यक्त गर्दै समुन्नत राष्ट्र निर्माण र जनताहरुको समृद्धि प्राप्त गर्न १९ दिने महान जनसंघर्षमा सहभागी दलहरुको एकता एवं समझदारीले मात्र संविधानको रक्षा र संविधानलाई अपनत्व नलिने तत्वहरुका विरुद्ध बलियो स्तम्भ बन्न सक्ने विश्वास व्यक्त गरे ।
प्रदेश प्रमुख शेरचनले गणतन्त्र स्थापनाको लागि विभिन्न कालखण्डमा भएका संघर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै घाईते, अपाङ्ग एव वेपत्ता पारिएका योद्धाहरुप्रति उच्च सम्मान भाव व्यक्त गरेका छन् ।