कपिलवस्तु । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणको खुलेर प्रंशसा गरेका छन् । उनले आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने कार्य गलत भएको भन्दै नागरिकता विधेयक प्रमाणीकरणसगै ६ लाख भन्दा बढीले नागरिकता पाउने दाबी गरे ।
यादवले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणले नागरिकता विहिन नागरिकहरुलाई राहत मिलेको बताए । उनले केही दल र नेताहरुले आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर नक्कली राष्ट्रवादको नाममा जनतालाई भ्रममा पार्ने गरेको आरोप लगाए । यादवले नश्लिय चिन्तनबाट अभिप्ररित भएर विभेदको राजनीतिक गर्नेहरुले नै नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेको जिकिर गरे । उनले जन्मसिद्धको आधारमा नागरिकता पाउनु नागरिकको नैसर्जिग अधिकार भएको बताउदै गैरनागरिकलाई नागरिकता दिनुपर्छ भन्ने आफ्नो पार्टीको माग नभएको बताए ।
उक्त विधेयकको अहिले नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी सहितका दलहरुले विरोध गर्नुका साथै सर्वोच्च अदालतमा खारेजीको माग सहित रिट पनि दायर भइसकेको छ ।