काठमाण्डाै । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादी भन्नेहरुले आफ्ना नेताहरुको हत्या गर्ने योजना बनाएको आरोप लगाएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै एमाले नेता योगेश भट्टराईले पहिचानवादी भन्नेहरुले आफ्ना नेता चढेको गाडी तोडफोड गर्ने, मोविल छर्केर हत्या गर्ने योजना बनाएको आरोप लगाएका हुन् । उनले आफ्ना नेतालाई निशाना बनाउदै पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा दिन नसकेको बताए । राज्यले आफ्ना नेता कार्यकर्ताको सुरक्षा दिन नसके एमाले आफै आफ्ना नेता तथा कार्यकताको सुरक्षा गर्न सक्षम रहेको उनले बताए ।
त्यस्तै भट्टराईले प्रदेशको नाममा कसैलाई चित्त नबुझे प्रदेश सभामा वैधानिक रूपमा दुई तिहाइ बहुमत ल्याएर नाम स्वीकार गरे एमालेलाई स्वीकार्य रहेको उल्लेख गरे । उनले यस बिषयमा गृहमन्त्रीले स्पष्ट रुपमा जवाफ दिन माग गरेका थिए । सांसद भट्टराईले मधेशमा एमालेलाई लखेट्न खोज्दा पहिलो पार्टी बन्न सफल भएको भन्दै एमालेलाई लखेट्ने नाममा आफ्ना कार्यकर्ता माथि आक्रमण गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे । उनले कोशी प्रदेशको आन्दोलनमा एक जनाको कसरी ज्यान गयो भन्ने बारेमा पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।