दाङ । लुम्विनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव लालबावु कवारीले तीनै तहका सरकार जनमुखी नभई सुशासन कायम नहुने बताए । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलद्धारा आयोजना र लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा दाङको लमहीमा आयोजित सुशासनका लागी साक्षात्कार कार्यक्रममा बोल्दै सचिव कवारीले जनता नै सर्वोपरी हुन् भन्ने हेक्का राखी इमान्दार भएर काम गरे सुशासन स्वतः कायम हुने बताए ।
उनले देशमा बेतिथि बढेको बताउदै संविधानले दिएको हकअधिकार सही ढङ्गले प्रयोग गरे भष्ट्रचार न्यूनिकरण गर्न सहयोग पुग्नेमा जोड दिए । सचिव कवारीले योजनाहरु छनौट गर्दा स्थानीय स्तरमा जनताको चाहना बमोजिम गर्नुपर्ने बताउदै तीनै तहको सरकार बीच समन्वय हुन जरुरी रहेको औल्याए ।
लमही नगरपालिका प्रमुख जोगराज चौधरीले नीति निर्माण माथिल्लो तहबाटै सुधार गर्नुपर्नेमा जोड दिए । उनले कानुनी अस्पष्टताका कारण काम गर्न असहज भएको बताउदै स्पष्ट नीति र कानुन बनाउन माग गरे । प्रमुख चौधरीले राप्ती नदीमा दिनदहाडै नदीजन्य प्रदार्थको चारी बढ्दा समेत कानुनको दायरा ल्याउन नसकी मुकदर्शक बन्नु परेको गुनासो पोखे ।
घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बंगालामुखी गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जि.सी, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष केवशराज पोखरेल, पत्रकार महासंघका उपाध्यक्ष चुमा आचार्य, भु–तथा जलाधार आयोजनाका प्रमुख शेषकान्त चौधरी, वरिष्ठ पत्रकार केपी घिमिरे, क्रियाशिल महिला पत्रकार संघको लुम्बिनी प्रदेश अध्यक्ष लिला शाह, सामाजिक अभियन्ता अनिता शर्मा, नागरिक समाज दाङका उपसंयोजक निम बहादुर थापा, थारु कल्याणकारी समाज देउखुरीका सचिव बालबरुण चौधरी, होटल व्यवसायी महासंघको केन्द्रिय सदस्य नारायण भुसाल, बुद्धिजिवी शशिधर घिमिरे, सिंचाई व्यवस्थापन कार्यालयका प्रमुख कुपुला श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सुशासन अभियन्ता पुष्पराज अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।