काठमाडौं । प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न कम्पनीले विशेष प्राथमिकता दिएको बताएका छन्।
वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउँदै कम्पनीलाई दिगो र विश्वसनीय बनाउने दिशामा काम भइरहेको स्पष्ट पारे।
अध्यक्ष मल्लका अनुसार दिगो सफलता हासिल गर्न कम्पनीले अल्पकालीन तथा दीर्घकालीन रणनीतिहरू तय गरी कार्यान्वयन गरिरहेको छ। उनले सूचना प्रविधिलाई आधुनिक बीमाको आधारशिला र ग्राहक सन्तुष्टिको मुख्य आधारका रूपमा उल्लेख गर्दै प्रविधिको प्रभावकारी प्रयोगमार्फत छिटो, सरल र भरपर्दो सेवा प्रवाह गर्ने नीति लिएको बताए।
“उत्कृष्ट र विश्वासिलो बीमा कम्पनी बन्ने लक्ष्यसहित ‘प्रभुमा बीमा गरौं, निर्धक्क रहौं’ भन्ने नारालाई व्यवहारमा उतार्न व्यवसाय विस्तार, मानव संसाधन विकास, तालिम, सुशासन र ब्रान्डिङमा जोड दिएका छौं,” उनले भने। कर्मचारीलाई संस्थाको मेरुदण्डका रूपमा लिँदै उनीहरूको क्षमता अभिवृद्धि, तालिम र प्रोत्साहनमा विशेष ध्यान दिइएको मल्लले बताए।
साथै, कम्पनीले परिणाममुखी व्यावसायिक नीति अवलम्बन गर्दै अनावश्यक खर्च नियन्त्रणमा राखेको जानकारी दिए।अन्तर्राष्ट्रिय स्तरमा पनि कम्पनीले उपलब्धि हासिल गरेको उल्लेख गर्दै अध्यक्ष मल्लले थाइल्याण्डको बैंककमा आयोजित ‘इमर्जिङ एसिया अवार्ड’को छैठौं संस्करणमा दुई विधामा पुरस्कार जित्न सफल भएको बताए।
आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हालको चुक्ता पूँजीको ९.१५७९ प्रतिशत बोनस शेयर (कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांशसहित) वितरण गर्ने प्रस्तावसमेत पारित गरिएको जानकारी दिइएको छ। कुल लाभांश रकम करिब १५ करोड ५७ लाख ७१ हजार ७५३ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।