काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशनमा महत्वपूर्ण संशोधन गर्दै कर्मचारी हित र सेवा प्रवाह सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। संसोधित निर्देशन अनुसार अब बैंकहरूले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयबाहेक अतिरिक्त समयमा काम गर्न जबरजस्ती वा बाध्य पार्न पाउने छैनन्। यदि विशेष परिस्थितिमा कार्यालय समयभन्दा बढी समय काममा खटाउनु परेमा, बैंकहरूले प्रचलित कानुन र नियमबमोजिम कर्मचारीलाई अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (Overtime Pay) उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाउनुपर्नेछ।
यसका साथै, राष्ट्र बैंकले बैंक खोल्ने र सेवा प्रवाह गर्ने समय तालिकामा पनि नयाँ नियम थप गरेको छ। अब राष्ट्र बैंक खुला रहने दिन र यसको बैंकिङ कार्यालयले कारोबार गर्ने समयसम्म सबै बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य रूपमा आफ्ना कार्यालय खुला राखी बैंकिङ सेवा प्रदान गर्नुपर्नेछ। यदि कुनै बैंकले तोकिएको नियमित समयबाहेक अतिरिक्त समयमा वा अन्य सार्वजनिक बिदाका दिनहरूमा समेत कारोबार सञ्चालन गर्न चाहेमा, त्यसको लिखित जानकारी राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा पूर्व रूपमा गराउनुपर्नेछ।
सरकारले घोषणा गर्ने आकस्मिक बिदाका दिनहरूमा समेत सर्वसाधारणको हितलाई ध्यानमा राख्दै राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ। नयाँ नियम अनुसार नेपाल सरकारले आकस्मिक बिदा घोषणा गरेको दिन पनि नगद कारोबार, चेक क्लियरिङ, र आरटीजीएस (RTGS) जस्ता अत्यावश्यक बैंकिङ सेवाहरू रोकिने छैनन्। यस्ता सेवा सुचारु राख्नका लागि बैंक तथा वित्तीय संस्थाहरूले बिहान १०:०० बजेदेखि दिउँसो १:३० बजेसम्म आफ्ना आवश्यक विभाग र शाखाहरू खुला राख्नुपर्नेछ। राष्ट्र बैंकले एकीकृत निर्देशन नं. २१ मा बुँदा नं. २३ थप गर्दै यी नयाँ व्यवस्थाहरू पहिलोपटक कार्यान्वयनमा ल्याएको हो।