काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ। सो प्रक्रिया सम्पन्न भएपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागिएको हो। कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
कुल निष्काशनमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ७० हजार कित्ता शेयर बाँडफाँड गरिसकेको छ। यसका साथै, कम्पनीका कर्मचारीहरूका लागि १ लाख ७१ हजार कित्ता र सामूहिक लगानी कोषहरूका लागि २ लाख ८५ हजार कित्ता शेयर छुट्याएर सुरक्षित गरिसकिएको छ। यी सबै चरण पूरा भएपछि अब सर्वसाधारण लगानीकर्ताका लागि बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँ बराबरको कुल ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न लागिएको हो।
कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा छिटोमा जेठ २० गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलोमा जेठ २८ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था छ। यस निष्काशनका लागि गराइएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई 'इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस (ICRANP-IR BB-)' प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
सानिगाड हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालेको छ। इच्छुक सर्वसाधारण लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा (ASBA) सेवामा सहभागी भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूका साथै अनलाइनमार्फत 'मेरो शेयर' (Mero Share) सफ्टवेयर र एप प्रयोग गरी 'सि-आस्बा' प्रणालीमार्फत सहजै आवेदन दिन सक्नेछन्।