काठमाडौं । साताको तेस्रो कारोबार दिन मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.२४ अङ्कले घटेर २७ सय ७७.१० बिन्दुमा बन्द भएको छ। परिसूचकसँगै आज बजारमा कारोबार रकम पनि सङ्कुचित भएको छ। सोमवार ५ अर्ब ९८ करोड रूपैयाँको शेयर खरिद–बिक्री भएकोमा मङ्गलवार त्यो रकम घटेर ४ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको हो। नेप्सेका अनुसार यसदिन ३४२ वटा धितोपत्रको कुल १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर किनबेच भएको छ। समग्र बजार घट्दा अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कारोबारमा आएका कम्पनीहरूमध्ये ६९ कम्पनीको शेयर मूल्य बढ्दा १९० वटा कम्पनीको मूल्यमा गिरावट आएको छ भने बाँकी ११ कम्पनीको शेयर मूल्य स्थिर रह्यो। १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा समूहबाहेक बाँकी ११ वटा समूहका परिसूचकहरू आज ओरालो लागेका छन्।
घट्टो बजारका बीच पनि कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्, जसको शेयर मूल्य ९.२३ प्रतिशतले बढेर प्रतिकित्ता ३२७ रूपैयाँ ७० पैसा पुगेको छ। त्यस्तै, ६ प्रतिशत मूल्य बढेर प्रतिकित्ता १ हजार ५९० रूपैयाँ कायम भएको कुथेली बुखरी स्मल हाइड्रोपावर दोस्रो धेरै कमाउने कम्पनी बन्यो भने त्रिशुली जलविद्युत, श्रृजनशील लघुवित्त र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ता पनि शीर्ष कमाउने सूचीमा परेका छन्। यता सर्वाधिक मूल्य घट्ने कम्पनीमा सुपर खुदी हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको शेयर मूल्य ३.६० प्रतिशतले घटेर प्रतिकित्ता ९९२ रूपैयाँमा झरेको छ। ग्रीन डेभलपमेन्ट बैंकको मूल्य पनि ३.१४ प्रतिशतले ओरालो लागेको छ। कारोबार रकमका आधारमा भने आँखुखोला जलविद्युत कम्पनीले सर्वाधिक ४६ करोड ७२ लाख रूपैयाँ बराबरको शेयर कारोबार गर्दै बजारमा वर्चस्व कायम गर्यो, र यसको मूल्य १.१७ प्रतिशतले बढेर प्रतिकित्ता ४२२ रूपैयाँ ९० पैसा पुगेको छ।