काठमाडौं । काठमाडौंको सामाखुसीस्थित सगरमाथा चोकमा रहेको एक्टिभ फेमस मनकामना ज्याकेट पसल विगत १५ वर्षदेखि स्वदेशी सीप, श्रम र उद्यमशीलताको सशक्त उदाहरण बनेर अघि बढिरहेको छ ।
गोरखा जिल्लाकी कुमारी बर्देवाले आफ्नै मेहनत, सीप र लगनका बलमा सञ्चालन गर्दै आएको यस व्यवसायले ट्रेकिङ ज्याकेट, स्लिपिङ ब्याग, ट्रयाकसुट, स्कुल युनिफर्म तथा विभिन्न प्रकारका स्थानीय ज्याकेट सिलाउनेदेखि डाउन ज्याकेट, जिन्स तथा अन्य पुराना कपडाको गुणस्तरीय मर्मत (रिपेयरिङ) सेवा प्रदान गर्दै आएको छ । नयाँ उत्पादनसँगै पुराना कपडालाई पुनः प्रयोगयोग्य बनाउने कार्यले उपभोक्ताको खर्च बचाउनुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुर्याइरहेको छ ।
गोरखाको सामान्य परिवारमा जन्मिएकी कुमारी बर्देवा अवसरको खोजीमा सानै उमेरमा काठमाडौं आइन् । उनी १२ वर्षको उमेरदेखि नै अरूको व्यवसायमा काम गर्न थालेकी थिइन् । करिब आठ वर्षसम्म निरन्तर अनुभव र सीप हासिल गरेपछि उनले आफ्नै व्यवसाय सुरु गर्ने साहस गरिन् । आज डेढ दशकदेखि सफलतापूर्वक सञ्चालन भइरहेको एक्टिभ फेमस मनकामना ज्याकेट पसल उनको संघर्ष, आत्मविश्वास र निरन्तर मेहनतको जीवन्त उदाहरण बनेको छ ।
डेढ दशकदेखि स्वदेशमै उत्पादन र रोजगारी सिर्जनामा समर्पित बर्देवाले राज्यको नीतिगत सहयोगको अभावले साना तथा घरेलु उद्यमीहरूले अझै पनि अनेक चुनौती सामना गर्नुपरेको बताउँछिन् । उनका अनुसार स्वदेशमै उत्पादन हुने वस्तुलाई प्राथमिकता दिने नीति, लगानीमैत्री वातावरण, सहज ऋण, आधुनिक प्रविधि र बजार व्यवस्थापनमा प्रभावकारी सहयोग उपलब्ध गराउन सके हजारौँ युवाले विदेशिनुको सट्टा आफ्नै देशमा सम्मानजनक रोजगारी र उद्यमको अवसर सिर्जना गर्न सक्नेछन् ।
“स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने स्पष्ट नीति र उद्यमीमैत्री वातावरण बन्यो भने युवा पलायन उल्लेख्य रूपमा घटाउन सकिन्छ । नेपालमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने विश्वास राज्यले व्यवहारबाट देखाउनुपर्छ,” बर्देवा भन्छिन् ।
कुमारी बर्देवाको संघर्षले एउटा स्पष्ट सन्देश दिन्छ - नेपालमा अवसरको अभावभन्दा पनि अवसरलाई संरक्षण, प्रवर्द्धन र प्रोत्साहन गर्ने नीतिको कमी छ । स्वदेशी उत्पादन, स्थानीय सीप र साना उद्यमलाई प्राथमिकता दिन सके आर्थिक आत्मनिर्भरता, रोजगारी वृद्धि र आयात प्रतिस्थापनमा उल्लेखनीय योगदान पुग्न सक्छ ।
एक्टिभ फेमस मनकामना ज्याकेट पसल केवल एउटा व्यवसाय मात्र होइन, स्वदेशमै बसेर परिश्रम र सीपका आधारमा सफल भविष्य निर्माण गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो ।