काठमाडौं । सोमबार प्रधानमन्त्रीको अभिव्यक्तिपछि उत्साहित बनेको पुँजीबजारले मंगलबार पनि सकारात्मक लय कायम राखेको छ। यद्यपि सोमबारको तुलनामा बजारको गति केही सुस्त देखिए पनि नेप्से परिसूचक ७.२५ अंकले बढ्दै २ हजार ७२६.४९ विन्दुमा पुगेको छ।
आज ३४३ वटा सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १०३ कम्पनीको सेयर मूल्य बढ्यो, १६२ कम्पनीको मूल्य घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो। बजारमा १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर खरिद–बिक्री भई ६ अर्ब ६७ करोड १० लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
विशेष कुरा, सोमबारको तुलनामा कारोबार रकम २१ प्रतिशतले वृद्धि भएको छ। यसले लगानीकर्ताको सक्रियता अझै कायम रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।
समूहगत कारोबारतर्फ वाणिज्य बैंक, लगानी, उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूह हरियालीमा रहे। भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा समूह मा गिरावट देखिएको छ।
आजका सर्वाधिक कमाउने कम्पनीमा एभरेष्ट कलर लिमिटेड, कालङ्गा हाइड्रो तथा बोटलर्स (बालाजु) नेपाल रहे। यस्तै, नबिल बैंक डिबेञ्चर, एनआईविएल ग्रोथ फन्ड र कर्पोरेट डेभलपमेन्ट बैंक का लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरे।
बजार विश्लेषकहरूका अनुसार नेप्से सकारात्मक रहनु र कारोबार रकम उल्लेख्य रूपमा बढ्नुले लगानीकर्ताको आत्मविश्वास कायम रहेको संकेत गरे पनि आगामी दिनमा नीतिगत निर्णय, बैंकिङ प्रणालीमा रहेको तरलता र कम्पनीहरूको वित्तीय विवरणले बजारको दिशा निर्धारण गर्नेछ।