ललितपुर । ग्यास सिलिन्डरको सिलबन्दी खोलेर कृत्रिम अभाव सिर्जना गरेको आरोपमा ललितपुरमा एक ग्यास स्टोर सञ्चालक पक्राउ परेका छन्। महालक्ष्मी नगरपालिका–६, सानागाउँस्थित सिद्धीपुर ग्यास स्टोरका सञ्चालक सरोज नेम्कुललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पसलमा सिलिन्डरको सिलबन्दी खोलेर ग्यास रित्तो भएको भन्दै अभाव सिर्जना गरिएको विशेष सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट खटिएको टोलीले स्टोरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले स्टोरबाट सिल गरिएका दुई र सिल नभएका तर ग्यास भरिएका २२ गरी जम्मा २४ वटा सिलिन्डर बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार ४७ वर्षीय नेम्कुललाई बरामद सिलिन्डरसहित नियन्त्रणमा लिएर प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सूचना अधिकारी गौतम मिश्रका अनुसार ग्यासको कृत्रिम अभाव सिर्जना गर्न नहुने कसुरमा नेम्कुलमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई समस्या पार्ने गतिविधिमाथि निगरानी बढाएको जनाएको छ। पछिल्लो समय बजारमा अत्यावश्यक वस्तुको आपूर्ति र बिक्री वितरणमा अनियमितता हुन नदिन सम्बन्धित निकायले अनुगमनलाई समेत तीव्रता दिएका छन्।