काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल दुवै टोलीका लागि प्लेअफ यात्रा बलियो बनाउने अवसर हुनेछ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको सुदूरपश्चिम आजको खेल जित्दै प्लेअफ सम्भावना थप बलियो बनाउन चाहन्छ।
यता, पाँच खेलबाट चार अंक जोडेको जनकपुर पाँचौँ स्थानमा छ। दुई खेलमा जित र तीन खेलमा पराजय भोगेको जनकपुरका लागि पनि प्लेअफ दौडमा कायम रहन आजको जित महत्त्वपूर्ण छ।
दुवै टोलीलाई जित आवश्यक रहेकाले आजको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। सुदूरपश्चिम आफ्नो तेस्रो स्थान सुरक्षित गर्ने लक्ष्यमा रहँदा जनकपुर अंकतालिकामा सुधार गर्दै प्लेअफको सम्भावना जीवित राख्न मैदान उत्रिनेछ।