रूपन्देही । आयाम बहुउदेश्यीय सहकारी संस्थाले उठाएको रकम बचतकर्तालाई फिर्ता गर्न सुरु गरिएको छ ।
रुपन्देहीको देवदहमा रहेको आयाम बहुउदेश्ययीय सहकारी संस्थाले गैरकानुनी रुपमा शेयर सदस्य तथा बचत कर्ताबाट उठाएको ४२ लाख १७ हजार १ सय २५ रुपैयाँ रकम बचत कर्ताहरुलाई फिर्ता गर्न सुरु गरिएको हो ।
यस अघि सहकारी रजिष्टारको कार्यालय, लुम्बिनी प्रदेशले अनुगमन गरी गैरकानुनी रुपमा सहकारी संचालन भईरहेको पुष्टि भएपछि संचालकहरुलाई कानुनी दायरामा ल्याई रकम असुली गरी जिल्ला सहकारी संघ रुपन्देहीको बैंक खातामा जम्मा गरिएको थियो ।
सो रकम बिहिबार लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेल, देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेल, सहकारी विकास बोर्ड लुम्बिनी प्रदेश सदस्य टिका न्यौपाने, सहकारी दर्ता अधिकारीको कार्यालयका दर्ता अधिकारी भीम प्रसाद तिवारी, रिपोर्टर्स क्लव नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री, जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचन, प्रहरी चौकी खैरेनीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरी, देवदह नगरपालिका-६ का वडाध्यक्ष खेम बहादुर थापा मगर लगायतको रोहवरमा फिर्ता गर्न सुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले आर्थिक कारोवार गर्दा बैधानिकता बुझेर मात्र कारोबार गर्न बचतकर्ताहरुलाई अनुरोध गर्नुभएको थियो । त्यस्तै लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले नियमित अनुगमन हुन नसक्दा पनि सहकारीमा ठगी प्रबृति मौलाएको भन्दै सहकारीको गठन, बैठक, साधारणसभा र आर्थिक पारदर्शिताको बिषयलाई शेयर सदस्यहरु आफै चनाखो हुनुपर्ने बताउनु भयो ।
सहकारी दर्ता अधिकारीको कार्यालयका दर्ता अधिकारी भीम प्रसाद तिवारीले सहकारीहरुको नियमित अनुगमन सुरु गरिएको भन्दै सहकारीमा देखिएका बिकृतिहरुलाई नियन्त्रण गर्न सहाकारीका सदस्य तथा बचतकर्ताहरुले शंकास्पद गतिबिधिहरुको जानकारी दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।



