Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

खेल क्षेत्र उपेक्षामा, उपयुक्त खेल मैदान अभाव


२१, भदौ २०८०
  • 381
    SHARES
  • खेल क्षेत्र उपेक्षामा, उपयुक्त खेल मैदान अभाव

    बागलुङ । बागलुङका हरेक गाउँमा खेलाडी छन् । भौगोलिक विकटता र पर्याप्त खेल मैदान नहुँदा खेल्ने अवसर भने राम्रो छैन । बागलुङका कुनाकाप्चामा खेलेका धेरै खेलाडी अहिले राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्दै आएका छन् । भलिबलका लागि अझ बढी चर्चित बागलुङ जिल्ला । बालबालिकादेखि  वृद्धवृद्धासम्मले भलिबल खेललाई निकै चासोका साथ हेर्ने गर्दछन् । 

    हिउँदको समयमा खेतबारीकै कुनामा बार लगाएर खेल्ने गरे पनि बर्खायाम भने खेल खेल्नबाट वञ्चित हुँदै आएका छन् । तेक्वान्दो, कराते, फुटबललगायतका खेलकुद जिल्लामा खेलिने गर्छ । असारदेखि बागलुङ ग्रामीण क्षेत्रमा खेलकुदका गतिविधि निकै कम भएका छन् । कारण हो खेल मैदान अभाव । दैनिक खेल्ने खेलाडी यो समय घर तथा बारीको काम धन्दामा व्यस्त हुन्छन् । सधैँ खेलेर क्षमता अभिवृद्धि गर्नुपर्ने खेलाडी खेल्ने स्थानको अभावका कारण पडाडि पर्नुपरेको छ ।

    बर्खा सकिन थालेपछि अब चाडपर्वको याम पनि सुरु हुन थालेका छन् । अब जिल्लाका धेरै ठाउँमा धमाधम खेलकुद प्रतियोगिता हुने गर्छन । बागलुङका अधिकांश ठाउँमा उपयुक्त खेल मैदान छैनन् । केही ठाउँमा भए पनि निकै साँघुरा र अप्ठेरा छन् । त्यस्ता खेल मैदानले दुर्घटना जोखिम बढाएका छन् ।

    बालबालिका र युवाको खेलाडी बन्ने चाहना हुँदाहुँदै पनि उपयुक्त खेल मैदान नहुँदा पछाडि पर्नुपरेको धेरैको गुनासो छ । हाल जिल्लामा दर्जनौँ स्थानमा तेक्वान्दो तथा कराते खेल खेलिँदै आएको छ । अधिकांश ठाउँका खेल प्रशिक्षकले विद्यालयका प्राङ्गणमा प्रशिक्षण दिँदै आएका छन् । केही स्थानमा मात्रै कभर्ड हल तथा खेल मैदानमा खेल प्रशिक्षण हुने गर्छ । कराते र तेक्वान्दोबाहेक अन्य खेलको प्रशिक्षकसमेत हुँदैनन् । निसीखोला गाउँपालिका–४ मा तेक्वान्दो प्रशिक्षण दिँदै आउनुभएका सुरजन बुढा मगरले खेल्ने ठाउँ अभावका कारण जोखिमपूर्ण मैदानमा खेलाडीलाई प्रशिक्षण दिनुपरेको गुनासो गर्नुभयो ।

    उहाँले विद्यालयमा सधैँ खेल प्रशिक्षण गर्न समस्या हुने भन्दै त्यहाँ पनि उपयुक्त खेल मैदान नभएको बताउनुभयो । विद्यालयको खेल मैदानमा छरिएका ढुङ्गा तथा कङ्क्रिटले खेल्दा खेलाडीलाई चोटपटक लाग्ने र घाइते हुने गरेको उहाँको भनाइ छ । खेल मैदानको अभावमा खेलाडीले खुलारुपमा क्षमता प्रदर्शन गर्न नसक्ने प्रशिक्षक बुढा मगर बताउनुहुन्छ ।

    बुढा मगर भन्नुहुन्छ, “गाउँमा साँघुरो ठाउँ हुन्छ, सिकाउनका लागि पर्याप्त ठाउँ चाहिन्छ, तर पनि खेलाडीको चाहना धेरै भएको हुँदा साँघुरै ठाउँमा पनि खेलाउनु पर्ने बाध्यता छ, तेक्वान्दो खेल खेलाडीसँगै खेलेर सिकाउनु पर्ने हुन्छ, यो खेलप्रति पछिल्लो समय धेरैको आकर्षण बढेको छ, भूगोल पनि यस्तै छ, खेल मैदानका लागि ठाउँ त छ तर, मैदान बनाउन सक्ने अवस्था हाम्रोमा हुँदैन, सरकारले गराइदिए, धेरै खेलाडी उत्पादन हुने थिए ।”

    खेल खेल्ने पर्याप्त वातावरण नहुँदा कतिले खेल क्षेत्रबाट पनि हात धुनुपरेको छ । त कति विदेशिनु परेको छ । गाउँका खेत तथा साँघुरो बारीमा खेल्दै हुर्किएका दर्जनौँ खेलाडी अहिले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेल खेलिरहेका छन् । उनीहरुले आफ्नो पहिचानलाई थप उँचो बनाएका छन् भने राष्ट्रकै शान बनेका छन् । क्रिकेटर करण केसी, भलिबल खेलाडी रवी केसी, दिल सुनार, सुनिल घर्ती, दुर्गाबहादुर सुनार सोफया पुनलगायत दर्जनौँ खेलाडीले राष्ट्रियस्तरमा चर्चित छन् ।

    अहिले पनि उनीहरु कै पछि–पछि सयौँ बालबालिका तथा युवा भलिबल र फुटबल खेल्दै आएका छन् । खेल मैदान अभावमा गुज्रिएका सयौँ खेलाडी अहिले पनि माथिल्लोस्तरको खेल कसरी खेल्न सकिन्छ भन्नेमा अन्यौल छन् । जिल्ला सदरमुकाम बागलुङ बजारमा समेत एउटा व्यवस्थित खेल मैदान छैन । एउटा भएको बाङ्गेचौर खेल मैदान पनि अव्यवस्थित छ । त्यसलाई रङ्गशालाका रुपमा व्यवस्थित गर्नका लागि योजना परे पनि अहिलेसम्म काम भएको छैन । बागलुङ जिल्ला भलिबल खेलका लागि प्रख्यात भए पनि गतिलो खेल मैदान नहुँदा धेरै बालबालिका तथा युवा खेल्नबाट वञ्चित भएको भलिबल खेलाडी रेशम थापा बताउनुहुन्छ ।

    “बागलुङबाट धेरै दाइदिदीले अहिले राष्ट्रकै नेतृत्व गरेर खेल खेल्दै आउनुभएको छ, भलिबलका लागि उर्बर बागलुङमा अहिलेसम्म गतिलो खेल मैदान छैन, भलिबल मात्रै होइन, अन्य खेलका लागि पनि खेल्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “सरकारले खेल क्षेत्रलाई उपेक्षामा पारेको छ, ठाउँ–ठाउँमा खेल मैदान हुन्थ्यो, भने धेरै भाइबहिनीले आफ्नो भविष्य खेलेरै बनाउन सक्थे, न खेल मैदान छ, न खेल प्रशिक्षक छन् कसरी राम्रो खेलाडी उत्पादन हुन्छन् ?”

    जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगेश भण्डारीले जिल्लामा हजारौँ युवा तथा बालबालिकाको भलिबलतर्फ आकर्षण रहेको बताउनुभयो । ठूलो जमातको खेलप्रति आकर्षण हुँदा खेल मैदान र खेलकुद सामग्रीको व्यवस्थापन कसैले गर्न नसकेको उहाँको गुनासो छ । अहिलेको अवस्थामा जिल्लाका हरेक वडामा खेल मैदान, कर्भड हल हुनु भए पनि सरकारले त्यसको व्यवस्थापन गर्न नसकेको गुनासो गर्नुभयो ।

    “हामीहरुले सरोकारवाला निकायमा धेरै पटक, खेल मैदान, खेलकुद सामग्री, प्रशिक्षकलगायतका विषयको माग गर्दै आएका छौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन, धेरै भाइबहिनी खेल क्षेत्रमा लाग्न चाहानुहुन्छ तर अवस्था निकै नाजुक छ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “राज्यले तल्लोस्तरदेखि नै खेल क्षेत्रको जग बसाल्नुपर्छ, ठूलो ठूलो प्रतियोगितामा जितको अपेक्षा गरेर मात्रै हुँदैन, हाम्रो ‘बेस’नै राम्रो छैन ।”

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend