बुटवल । बुटवलको सुप्रिम सहकारी रकम अपचलनबारे छानबिन गर्नको लागि पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४० पुगेको छ ।
सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ७८ करोड रकम अपचलन भएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।
गत वैशाख ३ गते प्रहरीले सहकारीको रकम ठगी गर्ने २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । बिहीबार पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी सहित १२ जनालाई जिल्ला अदालत रुपन्देहीबाट अनुसन्धानको लागि पक्राउ पुर्जी जारी भएको छ ।
यसअघि २८ जना मध्ये ८ जना पक्राउ परेका छन् । जसमा २ जना कास्की र एक जना रुपन्देही कारागार रहेका छन् भने ५ जना धरौटीमा रिहा भएका छन् । जीवी राईसहित अन्य व्यक्तिहरू वैशाखदेखि फरार रहेका छन् ।
सहकारीको रकम ठगी प्रकरणमा पूर्व गृहमन्त्री लामिछाने र पूर्व डिआइजी जोशी पोखराको सूर्य दर्शन सहकारीको रकम अपचलनको आरोपमा जिल्ला अदालत कास्कीको आदेशमा थुनामा रहेका छन् ।
लामिछाने र जोशीसहित बिहीबार पक्राउ पुर्जी जारी हुनेमा रुपन्देहीका दीपक लामा, अनन्तबाबु राई (जीवी राईको भाइ), नरेश जिसी, शिवबहादुर गुरुङ, श्रीबल्लव नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बमजन, विज्ञान राई, सुरक्षा अधिकारी रहेका छन् । प्रहरीले ती सबैलाई अनुसन्धानको लागि पक्राउ गरेर मुद्दा दायर गर्ने तयारी गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी विजय पण्डितले आर्थिक अनुसन्धानको पाटो एकै पटक सबै नखुल्ने भएकोले जोडिएका सबै व्यक्तिमाथि मुद्दा चल्न पनि सक्ने, अनुसन्धान गर्दा मुद्दा नचल्न पनि सक्ने बताए ।
उनले यसअघि २८ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइरहेको खुलाउँदै बाँकी अहिले पक्राउ पुर्जी जारी भएका पनि अनुसन्धान सकिएपछि पूरक मुद्दा दायर हुने खुलाए ।
सुप्रिम सहकारीको रकम गैर कानुनी रूपमा सारिएको विषयमा जोशीसँग यसअघि नै रुपन्देहीमा दुई दिन बयान लिएर पोखरा पठाइएको छ ।
रवि अहिले पोखरामा सूर्यदर्शन सहकारीको रकम ठगीमा अनुसन्धानमा छन् । उनलाई प्रहरीले छिट्टै रुपन्देही ल्याएर सुप्रिम सहकारी विषयमा अनुसन्धान गर्ने तयारीमा रहेको छ ।